कोरोना विशेष

कोभिड अध्यादेशः सरकारले जुनसुकै समय स्वास्थ्य संकटकाल लगाउन सक्ने


काठमाडौँ – सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरेको छ । सरकारले आवश्यक परेको जुनसुकै बेला पनि स्वास्थ्य आपतकाल घोषणा गर्न सक्ने भएको छ । कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश ‘२०७८’ जारी गर्दै सरकारले कोरोना संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा सोको रोकथाम, नियन्त्रण र निदानका लागि राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा कुनै स्थानमा स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने जनाएको छ ।

स्वास्थ्य आपतकाल घोषणा भएको अवस्थामा स्वास्थ्य संस्थालाई संक्रमितको निदान र उपचारमा खटाउने र आवश्यकता अनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्न सकिने प्रावधान पनि उल्लेख गरिएको छ ।

आवश्यकताअनुसार सरकारी, सार्वजनिक, निजी, सहकारी, सामुदायिक वा गैरसरकारी स्वामित्वमा रहेको जग्गा, भवन, संरचना र सवारीसाधनको अभिलेखन राखेर प्रयोग गर्न सक्ने पनि भनिएको छ ।

कुनै व्यक्ति मास्क नलगाई हिँडेको पाइएमा सुरक्षाकर्मीले हरेक पटक नै सय रुपैयाँ जरिवाना लिने र त्यस्तै आवतजावत रोक लगाइएका ठाउँमा मानिसहरू हिँडडुल गरेको पाइएमा पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना लिन सकिने छ। साथै ६ महिनासम्म कैद गर्न सकिने पनि व्यवस्था गरिएको छ।