राजनीति

आफ्नै नेतृत्वमा सरकार नबने फेरि संसद् विघटन गर्ने ओलीको चेतावनी, राष्ट्रपतिको गरे बचाउ(भिडियोसहित)


काठमाडौँ – एमाले संसदीय दलका नेता केपी ओलीले प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । हिजोमात्र बहुमत जुटाउने सम्भावना नरहेपछि विश्वासको मत नलिने निर्णय गरेका ओलीले आज भने जसपाको समर्थन रहेको भन्दै एकाएक बहुमतको दाबी पेश गरे ।

दिउसोको पत्रकार सम्मेलनमा आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन नभए संसद् विघटन गर्ने र त्यसको अपजस विपक्षी दललाई जाने दाबी गरेको थिए । प्रधानमन्त्री केपी ओलीको पछिल्ला गतिविधि हेर्दा उनी आफूले गत पुस ५ गते संसद् विघटन गरेको निर्णय सहि थियो भन्ने पुष्टि गर्न केन्द्रीत छन् भन्ने प्रष्ट हुन्छ ।

शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले संसद् विघटनको निर्णय असंवैधानिक नभएको दाबी गरे । अदालतलाई असंवैधानिक लागे पनि आफ्नो त्यो दुरदर्शी निर्णय भएको उनले बताए । अदालतले संसद् पुर्नस्थापना गरेपछि ओलीको रटान नै संसद्ले जारी राजनीतिक गतिरोधको हल गर्न सक्दैन भन्ने पुष्टि गर्नमै केन्द्रत देखिन्छ । संसद्लाई कुनै विजनेश नदिनु, विपक्षीबीच गठबन्धन बन्न नदिनु, जसपा र माधव नेपाल समूहलाई विभिन्न प्रलोभनमा पारेर अलमल्याउनु तर पनि आफूले विश्वासको मत नलिनुले पनि ओली संसद्ले निकास दिन नसकेको बाहनामा फेरि विघटन गरेर निर्वाचनमा जान चाहन्छन् भन्ने प्रष्ट पार्दछ ।

शुक्रबारको पत्रकार सम्मेलनमा त उनले मुखै फोरेर आफूलाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न नदिए संसद् विघटन गर्ने बताए । विपक्षी दलहरुले निकास नदिएमा संसद् विघटन हुने र त्यसको अपजस शेरबहादुर देउवा, पुष्पकमद दाहाल र माधव नेपाललाई जाने ओलीको भनाइ थियो । नयाँ सरकार गठनको लागि संविधानबमोजिमसमय दिँदा राष्ट्रपतिमाथि महाअभियोगको हौवा फिजाएको भन्दै उनले विपक्षी दलको खेदो खने ।

राष्ट्रपतिमाथिको आक्रोश गणतन्त्रमाथिको आक्रमण भएको ओलीको जिकिर थियो । आफूले गरेको सिफारिशप्रति राष्ट्रपति नभइ आफू नै जवाफदेही हुने ओलीले बताए । प्रधानमन्त्री ओली आफु तत्काल चुनावमा जाने पक्षमा नरहेको तर विपक्षीहरुको कारणले त्यो स्थिति बन्यो भने पनि संबैधानिक प्रक्रियाको रुपमा सबैले स्वीकार गर्नुपर्ने बताए । समग्रमा झण्डै २ घण्टा बोलेका प्रधानमन्त्रीले अधिकांश समय संसद् विघटनको आफ्नो निर्णय ठीक थियो भन्ने पुष्टि गर्नमै केन्द्रित थिए ।