राजनीति

प्रधानमन्त्रीको राष्ट्रपतिलाई पत्र : देउवाको पक्षमा गरेको एमाले सांसदको हस्ताक्षरलाई मान्यता नदिनु


काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा आफ्ना सांसदको हस्ताक्षरलाई आधिकारिकता नदिन राष्ट्रपति विद्या देवी भण्डारीलाई पत्र पठाउनुभएको छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि कांग्रेस सभापति देउवाले गरेको दावीमा २६ जना सांसदले हस्ताक्षर गरेका छन् ।

२७ जना सांसदको नाम रहे पनि योगेश भट्टराईले भने हस्ताक्षर गरेका छैनन् । राजनीतिक दल सम्बन्धी व्यवस्था अनुसार अरू दलको उम्मेदवारलाई त्यसरी समर्थन गर्न नपाइने भएकाले पत्र पठाइएको प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहालले जानकारी गराउनुभयो ।

‘पहिला त हामीले हस्ताक्षरबारे एकिन गर्छौ। जुन जुन सांसदले मेरो हस्ताक्षर हो भन्नुहुन्छ उहाँहरूलाई कारबाही हुन्छ,’ उहाँले भन्नुभयो, ‘अहिले हामीले कारबाही गरेका छैनौं । त्यो हस्ताक्षरलाई मान्यता नदिनू मात्रै भनेको हो । किनकि, आफ्नै पार्टीको संसदीय दलको नेताले दावी पेश गरेको बेलामा अरू उमेदवारको पक्षमा हस्ताक्षर गर्नु गैर कानुनी हो ।’

१४९ सांसदको हस्ताक्षर सहित नयाँ सरकार गठनका लागि दाबी पेस गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेसका ६१ र माओवादी केन्द्रका ४९ जना सांसदको समर्थनसँगै जनता समाजवादी पार्टीका १२ र नेकपा एमालेका २६ सांसदले समर्थन गरेका छन् ।