राजनीति

विपक्षीलाई समर्थन गर्नु गम्भीर रहेको पार्टी प्रवक्ताको भनाई


काठमाडौँ– सत्तारुढ दल नेकपा एमालेका माधवकुमार नेपालको समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्नु गम्भीर रहेको पार्टी प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठकपछि प्रतिक्रिया दिँदै ज्ञवालीले कम्युनिष्ट पार्टीमा अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्नु कल्पना भन्दा बाहिरको विषय रहेको बताएका हुन् ।

उनले भने, ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपाल लगायतको हस्ताक्षरका बारेमा छलफल भएको छ । यो अत्यन्तै गम्भीर विषय हो । कार्यदलका साथीहरुमा पार्टीभित्रको संकटलाई हरसम्भव तरिकाले समाधान गर्ने विषयमा छलफल भएको छ । कम्युनिष्ट पार्टीमा यस्तो कल्पना गरिँदैन । कल्पनाबाहिरको विषयलाई हरसम्भव समाधान गर्नेछौँ ।’

कार्यदलको बैठकमा वरिष्ठ नेता नेपाल समूहका नेताहरुले संसद् विघटन हुनेमा आशंका व्यक्त गरेको भएपनि संसद विघटन नहुने आश्वस्त पारेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । कार्यदलको आज बसेको बैठकमा कुनै पनि विषयमा सहमति हुन नसकेको उनले बताएका छन् ।