राजनीति

ओलीको प्रधानमन्त्रीमा दावी असंवैधानिक संविधानविद् : शम्भु थापा


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष गरेको दावी पेश असंवैधानिक भएको संविधानविद्को ठहर छ ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दावी गैरसंवैधानिक भएको बताएका हन् । उनले पहिले बहुमत नपुगेको भनेर नयाँ सरकार गठनको लागि अपील गर्याे पछि फेरि बहुमतको सांसद मसँग छ भन्नु केटाकेटीले खेलेको जस्तै भएको बताए । ‘जसले संविधानको धारा ७६ को उपधारा ३ अनुसार बहुमत पुर्‍याउन सकिनँ भनेर नयाँ सरकार गठनका लागि अपिल गर्न लगायो, उसैले बहुमत सांसद मसँग छन् भनेर दाबी गर्नु केटाकेटीको खेलजस्तै हो,’ उनले भने, ‘धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको अपिल ओलीबाहेकका सांसदका लागि हो।’
यस्तो अवस्थामा राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री बनाउने कि देउवालाई भनेर प्रश्न गर्नु नै बेकार रहेको उनको भनाइ छ। ओली धारा ७६ को उपधारा ३ अनुसार रिङ आउट भएकाले उनी प्रतिस्प्रर्धी नै बन्न नमिल्ने वरिष्ठ अधिवक्ता थापा बताउँछन्।
हिजो राष्ट्रपतिले आज ५ बजेका लागि बहुमतसहित नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । त्यसमा आज कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ मतसहित प्रधानमन्त्रीमा आफ्नो मत दावी गरेका थिए । त्यस लगत्तै ओलीले पनि आफूसँग १५३ सांसदको साथ रहेको भन्दै दावी पेश गरेका थिए ।