राजनीति

नेपाल समूह पनि आन्तरिक छलफलमा


काठमाडौँ – सत्तारुढ दल नेकपा एमालेका माधव नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बिहीबार साँझ दलहरुलाई संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरिसकेपछि नेपाल समूह आन्तरिक छलफलमा जुटेका हुन् ।

यदि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार गठनको प्रक्रिया अघि बढ्ने प्रस्ट संवैधानिक व्यवस्था छ ।

सो छलफलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको सरकारबारे थप निर्णय गर्ने नेपाल निकट एक स्रोतले जनाएको छ ।
सरकारको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको लागि २१ घण्टा अर्थात आज बेलुकी पाँच बजेसम्मको समय दिनुभएको छ । संविधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार ७६ को ४ मा प्रवेश नै नगरी उपधारा ५ मा जाने निर्णय गरेको भन्दै विपक्षीहरुले विरोध गरिरहेका छन् ।
संविधानको धारा ७६ को उपधारा (३)अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेताका रूपमा प्रधानमन्त्री भएको व्यक्तिले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । यदि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार गठनको प्रक्रिया अघि बढ्ने प्रस्ट संवैधानिक व्यवस्था छ ।