राजनीति

सरकार गठनको आह्वान गर्नु संसद भंग गरेर संविधान सिध्याउने योजना हो : देव गुरुङ


काठमाडौँ – नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नु संसद भंग गरेर संविधान सिध्याउने योजना भएको बताउनुभएको छ ।

‘संविधान उल्लङ्घन गर्ने प्रक्रियाको पनि पराकाष्ट नै भयो । ७६ को उपधारा ४ सदनमा उपयोग नगरी प्रधानमन्त्रीले मैले मान्दिनँ भनेर व्यक्तिगत रुपमा प्रयोग गर्ने धारा त हैन । सदनबाट प्रमाणित गर्नुपर्ने धारा हो । ७६ को उपधारा ५ प्रयोग गर्दा राष्ट्रपतिले ‘चेक एण्ड ब्यालेन्स’ गर्न पर्ने हो,’ गुरुङले भन्नुभयो , ‘तर राष्ट्रपतिले भोली ५ बजेसम्मको समय दिएर सरकार गठनका लागि आह्वान गर्नुभएको छ । यस्तो त कहिँ पनि हुँदैन । त्यसैले जसरी भए पनि संसद भंग गर्ने, संविधान सिध्याउने डिजाइन अन्तर्गत भएको छ ।’

साथै, गुरुङले राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको षडयन्त्रलाई सफल हुन नदिन संसद र संविधानका पक्षधर दलहरुले अधिकतम कोसिस गर्नुपर्ने पनि बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार साँझ प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न शुक्रबार ५ बजेसम्मको समय दिनुभएको छ ।