राजनीति

कोरोनाको विषयमा छलफल गर्न देउवाले ओलीलाई भेट्ने


काठमाडौँ – कोरोना संक्रमण नियन्त्रणमा सरकारको तर्फबाट उल्लेख्य काम नभएको भन्दै बिहीबार (आज) प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । देउवाले कोरोना उपचार, नियन्त्रण तथा रोकथामका लागि संसदीय दलको नेतृत्व गर्दै प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन्।

कोरोनाको उपचार र नियन्त्रण तथा व्यवस्थापनका क्रममा अग्रपङ्क्तिमा रहेर चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, सरसफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा धन्यवाद दिँदै उच्च मनोबल बढाउनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको बुधबार बसेको बैठकले बिभिन्न ११ बुँदे निर्णय गर्दै कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएको थियो। सो बैठकले कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्न आग्रह गर्दै संक्रमितको उपचारमा राज्यको सम्पूर्ण शक्ति र निकायलाई परिचालन गर्न माग गरेको थियो । बैठकले प्रधानमन्त्री ओलीकै गलत विश्लेषणका कारण कोरोनाले क्षति बढाएको दाबीसमेत गरेको छ।

कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शय्यासहितका अस्थायी अस्पताल बनाउन माग गरिसकेको छ । कोरोनाको उपचार र नियन्त्रण तथा व्यवस्थापनका क्रममा अग्रपङ्क्तिमा रहेर चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, सरसफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा धन्यवाद दिँदै उच्च मनोबल बढाउनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।