खेलकुद

टोकियो ओलम्पिकका लागि नेपाली कराँते खेलाडी अभ्यासमा व्यस्त, ओलम्पिक हुनेमा भने अझै अनिश्चित (भिडियोसहित)


काठमाडौँ – टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउने लक्ष्यका साथ अहिले नेपाली कराँते खेलाडी अभ्यासमा व्यस्त छन् । ओलम्पिक आयोजना हुने नहुने निश्चित नभए पनि खेलाडीहरु स्वास्थ मापदण्ड पालना गरेर कडा मिहेनत गरिरहेका छन् । वाइल्ड कार्डबाट ढोका खोल्ने लक्ष्य राखेका खेलाडीले २०२१ मा जापानमा हुने ओलम्पिकका लागि अभ्यासलाई निरन्तरता दिइरहेका हुन ।

तर टोकियो ओलम्पिक कोरोनाकै कारण एक वर्षका लागि धकेलिए पनि तयारी गरिरहेका खेलाडीमा महामारीले अन्योलता छाएको छ । नेपाली खेलाडीमा पनि त्यसको असर देखियो अनि अभ्यास केही समय स्थगित पनि भयो । तर सरकारले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेललाई पूर्ण रुपमा स्वास्थमापदण्ड पालना गदै अभ्यासको अनुमति दिएसँगै नेपाली खेलाडी पनि अभ्यासमा व्यस्त भएका हुन् । ओलम्पिक तयारी गरिरहेका कराँते खेलाडी अनु अधिकारी र नविन रसाईली वाइल्ड कार्डमार्फत सहभागिता जनाउने लक्ष्यका साथ कठोर मेहनत गरिरहेका छन् ।

यद्दपी टोकियो ओलम्पिक आयोजना हुने नहुने भन्ने अझै निश्चित छैन । विभिन्न स्तरमा प्रतियोगिता रोकिने चर्चा चलिरहेका छन् भने आयोजकले स्वास्थ मापदण्डलाई कठोर रुपमा पालना गर्दै प्रतियोगिता सम्पन्न गर्ने जनाइरहेको छ । अन्योलबीच खेलाडीको मनोबललाई उच्च राख्नका लागि अभ्यासलाई निरन्तरता दिइरहेको प्रशिक्षक बताउँछन् ।

ओलम्पिकका लागि नेपालबाट वाइल्ड कार्डका लागि तयारीमा रहेका १२ खेलाडी मध्ये करातेका अनु अधिकारी र नविन रसाइलीले अभ्यास गरिरहँदा अन्यको अभ्यास भने चुस्त हुन सकेको छैन । १२ खेलाडी वाइल्ड कार्डको पर्खाइमा रहँदा नेपालका अन्य तीन खेलाडी भने युनिभर्सल कोटामा छनोट भइसकेका छन् । स्विमिङबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपी चन्द्र पार्कीको सहभागिता निश्चित भइसकेको छ । अन्य खेलाडीको हकमा भने अझै अनिश्चित छ ।