समाचार

विज्ञ भन्छन् : एक अर्काको दोषारोपणमा लाग्दा स्थिति भयावह भयो


काठमाडौँ – कोरोना संक्रमणदर उकालो लाग्दै गर्दा देशभरका अस्पतालमा अक्सिजनको अभाव देखिएको छ । संक्रमितहरु उपचार अभावले अकालमा ज्यान गुमाईरहेका छन् । कतिपय अस्पतालले भने अक्सिजन अभाव भएको कारण देखाउँदै बिरामी भर्ना लिन छाडिसकेका छन् ।

देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ । अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यकता पर्ने देखिए पनि अभाव हुँदा विरामीहरुले छटपटाउनुपर्ने बाध्यता आइपरेको छ । संक्रमितले वेड पाउन हम्वेहम्वे परिरहेको अहिलेको अवस्थामा पनि अक्सिजन अभावमा केही निजी तथा सरकारी अस्पतालले समेत ‘संक्रमित उपचार गर्न नसकिने’ सुचना जारी गरिरहेका छन् ।

कतिपय अस्पतालले त अक्सिजन खोज्ने जिम्मा विरामीका आफ्न्तलाई नै लगाँउदै आएका छन् । यसरी निजीले भर्ना नलिने अनि सरकारी ले विरामीको जिम्मा नलिने गर्दा संक्रमितले अकालमा ज्यान गुमाउन बाध्य छन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने बताए ।

यता सरकार पनि दोषजति अरुकै थाप्लोमा हालेर आम सर्वसाधारणको लापरबाहीका कारण कोरोना फैलिएको बताउने गरेको छ भने सर्वसाधारण भने सरकारले महामारी नियन्त्रणमा ठोश योजना ल्याउन नसकेको आरोप लगाउँदै आएका छन् । अहिलेको यस्तो महामारी विरुद्ध लड्न दोषारोपण भन्दा पनि सामुहिक संकल्प आवश्यक रहेको विज्ञहरु बताउछन् ।

यो एक अर्कोलाई दोषारोपण गर्ने समय त हुँदै होइन । सरकार, विभिन्न राजनीतिक दल, स्वास्थ्य, सुरक्षाकर्मी, सञ्चारमाध्यम र सम्पूर्ण नागरिक एकजुट भएर कोरोना संक्रमणको जोखिमविरुद्ध लड्नुपर्ने अहिलेको आवश्यकता हो ।