समाचार

सोलुखुम्बुमा आईतबारदेखि निषेधाज्ञा हुने


काठमाडौँ – सोलुखुम्बुमा आगामी आईतबार मध्यराती १२ बजेदेखि १५ दिनका लागि निषेधाज्ञा लागु गरिने भएको छ । आज बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएको दुई साताका लागि निषेधाज्ञा लागु गर्ने निर्णग गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा आवागमन ठप्प पार्नुका साथै भीडभाड हुने क्षेत्रमा कडाई गर्ने निर्ण गरेको हो । पछिल्लो एक साता यता दिनै पिच्छे कोरोना संक्रमितको संख्या थपिदै गएपछि सोलुखुम्बु जिल्लामा निषेधाज्ञा लागु गर्न लागिएको हो ।

निषेधाज्ञाको समयमा छोटो तथा लामो दुरीको कुनै पनि सवारी साधन नचल्ने प्रमुख जिल्ला अधिकारी शाहीले बताए । बैठकमा विभिन्न तहबाट निर्वाचित प्रतिनिधि, स्वास्थ्य सम्बन्धि सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।

जिल्लामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।