कोरोना विशेष

संसद् भवन नै कोरोनको हट स्पट बन्दै, दिनहु संक्रमित सांसदको संख्यामा वृद्धि


काठमाडौँ – नेपालमा पछिल्लो समय संसद् भवन नै कोरोनाको हट स्पट बन्न थालेको छ । दिन दिनै कोरोना भाइरसबाट संक्रमित हुने सांसदको संख्या बढ्दै जानुले पनि यो कुराको पुष्टि गर्छ । अहिलेसम्ममा कोरोनाबाट संक्रमित हुने सांसदको संख्या २५ पुगिसकेको छ । अहिलेको यही आँकडालाई नै आधार मान्ने हो भने पनि यो संख्या बढ्ने निश्चित छ । प्रतिनिधिसभाको २७ गते बस्ने विशेष अधिवेशनका लागि बुधबार गरिएको स्वाव संकलनको परिक्षण पछि १४ जना सांसद संक्रमित भएका हुन्। यसअघि नै संक्रमित भएर ११ जना सांसद घरमै आइसोलेसन तथा अस्पतालमा उपचार गराइ रहेका छन्।

सचिवालय स्रोतका अनुसार बुधबार संसद् भवन पुगेर स्वाब दिने ६ सय १३ जनामध्ये ६५ जनामा संक्रमण देखिएको हो। जसमध्ये १४ जना सांसद छन् जसमा एमालेका आठ, कांग्रेसका दुई र जसपाका चार जना परेका छन् । बाँकी ५१ जनामा कर्मचारी, सुरक्षकर्मी र पत्रकार रहेका छन् ।

दोस्रो दिन स्वाव दिएकाहरु पनि उल्लेख्य संख्यामा संक्रमित भएको सचिवालयले जनाएको छ । शुक्रबार पनि दश जना सांसद सहित १०० जनाले बानेश्वर पुगेर स्वास दिएका छन्।

२७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन चाहेको अवस्थामा संक्रमित सांसदले कसरी मतदान गर्ने भन्ने विषयमा सचिवालयले गृहकार्य गरिरहेको छ।