अर्थनीति

राष्ट्र बैंकले सोध्यो एनआईसीलाई स्पष्टीकरण


काठमाडौँ – नेपाल राष्ट्रिय बैंकले एनआईसी एसिया बैंकलाई स्पष्टीकरण सोधेको छ । राष्ट्र बैंकले बाहिर आएको चर्को ब्याज लिएको विषयमा एनआईसीलाई स्पष्टीकरण सोधेकोे हो ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंकलाई पत्रचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार एनआईसीले यो महामारीको समयमा पनि अचाक्ली ब्याज लिएर ग्राहकलाई समस्यामा पारेको भन्ने विषयबाहिर आएपछि जवाफ माग गरिएको हो । प्रवक्ता ढकालले बैंकलाई पत्र काटिएको पुष्टि गर्नुभएको हो । जवाफ माग गर्दै पत्र काटिएको भन्दै उहाँले आजभोलीमा जवाफ आउने पनि बताउनु भयो । नियमन विभागका प्रमुख समेत रहेका प्रवक्ता ढकालले भन्नुभयो, ‘हिजो मात्रै पत्र काटिएको छ, आज वा भोलिसम्ममा जवाफ आउँला ।’ सुपरीवेक्षण विभागले बैंकको जवाफपछि के आउछ त्यसको आधारमा निर्णय गर्नेछ ।

एनआईसी एसिया बैंकले पछिल्लो समय ग्राहकलाई सामान्य मौका समेत नदिई घरजग्गा लिलामी गरिदिएको, अत्यधिक ब्याजदर लिने गरेको गुनासो बढेको छ । बैंकको विराटनगर शाखाले घर कर्जाको ब्याजदर ९ प्रतिशतबाट बढेर करिब १६ प्रतिशत पुगेको भन्दै ऋणीलाई पत्राचार गरेको थियो । तर, बैंकको बेस रेट ६।७७ प्रतिशत रहेको छ ।