कोरोना विशेष

बाँकेका सीडीओको आग्रह : सरकार मेडिकल डाक्टर पठाइदिनुपर्‍यो


काठमाडौँ – कारोना संक्रमण नियन्त्रण भन्दा बाहिर गइसकेको बाँकेमा स्वास्थ्यकर्मीको अभाव भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारीले कोरोना महामारीको उपचारका लागि थप स्वास्थ्यकर्मी पठाइदिन उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग माग गर्नुभएको छ ।

पोखरेलले बाँके जिल्लाको पछिल्लो अवस्थाबारे जानकारी लिन आइतबार टेलिफोन गरेका बेला प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्वास्थ्यकर्मी अपुग रहेको भन्दै पठाइदिन आग्रह गर्नुभएको हो । जवाफमा उपप्रधानमन्त्री पोखरेलले यस विषयमा आफूले स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने बताउनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी गेलालले कोभिडका बिरामीको चाप अस्पतालहरुमा बढिरहेको, अस्पतालमा बेडको अभाव भएको, नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड अस्पतालको रुपमा अगाडि बढाउने विषय प्रक्रियामै रहेको पनि जानकारी गराउनुभएको थियो ।