राजनीति

मुख्यमन्त्री पोखरेलको राजीनमा स्वीकृत


काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज दिनुभएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यावदले स्वीकृत गर्नुभएको हो । प्रदेश प्रमुख यावदले संविधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिष्दलाई कार्यभार संचालन गर्न तोक्नुभएको छ । आइतबार बिहान बसेको एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री पोखरेलले दुई दलको सरकार भएकाले राजीनामा दिएको र अब ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री नियुक्त हुने बताउनुभएको छ । उहाँले एक महिनाभित्र विश्वासको मत लिने पनि बताउनुभएको छ । जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभामा सत्तारूढ एमालेको एकल बहुमत रहेको छ । लुम्बिनी प्रदेशमा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १८, जसपाका २ र राजमोका १ सांसद रहेका छन् । यसैबीच, लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज शुरु हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएपछि विशेष अधिवेशन आह्वान भएको हो ।