खेलकुद

पञ्जाबको तेस्रो जित


काठमाडौँ – भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पञ्जाब किङ्स विजयी भएको छ । पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ३४ रनले पराजित गर्दै लिगको तेस्रो जित निकालेको हो । छ ।

शुक्रबार राति अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित ओभर खेल्दै दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन जोडे । रजत पतिदारले ३१ रन बनाए । हर्सल पटेलले ३१ रन जोड्दा केली जेमिसन १६ रनमा अविजित रहे । बैंगलोरलाई सस्तैमा समेट्न पञ्जाबका हरप्रित ब्रारले ३ विकेट लिए । रबि बोस्नाईले २ तथा रिली मेरेदिथ, मोहमद शामी र क्रिस जोर्डनले १/१ विकेट लिए ।

पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाउने क्रममा कप्तान लोकेश राहुलले सर्वाधिक रन जोडे । उनले ५७ बलको सामना गर्दै ७ चौका र ५ छक्काको मद्दतमा अभिजित ९१ रनको आक्रमक पारी खेलेका थिए । यस्तै क्रिस गेलले ४६ रन जोड्दा हरप्रितले अभिजित रहदै २५ रन बनाए । बैंगलोरका जेमिसनले २ विकेट लिए । डानिल साम्स, युजभेन्द्र चाहल र सहबाज अहमेदले १/१ विकेट लिए ।

जितसँगै पञ्जाब ७ खेलमा ६ अंकसहित पाचौँ स्थानमा उक्लिएको छ । समान खेल खेलेका बैंगलोरले ५ मा जित र २ मा हार व्योहोर्दै १० अंकसहित तलिकाको तेस्रो स्थानमा छ ।