कोरोना विशेष

भारतमा भयावह कोरोना : भारतकै संक्रमणले नेपालको भविष्य निर्धारण


काठमाडौँ – भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको छ । बढ्दो संक्रमणकाबीच अक्सिजनको चरम अभाव देखिन थालेको छ भने ठूला अस्पतालले यहि कारण नयाँ संक्रमितको भर्ना लिन छाडेका छन् । त्यस्तै वेड अभावमा संक्रमित फुटपातमै सुत्न बाध्य भएका छन् । मृतकको दाहसंस्कारका लागि समेत लाइन बस्नुपर्ने अवस्था छ ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमणमा दैनिक नयाँ नयाँ रेकर्ड कायम हुने गरेका छन् । परिणामत स्थिती भयाबह बन्दै गएको छ भने वेड अभावमा संक्रमित सडकमै मृत्युवरण गर्न बाध्य बनेका छन् ।
महामारीबाट अत्यन्तै प्रभावित राजधानी दिल्लीका छ वटा अस्पतालमा अक्सिजनको चरम अभाव भएको चिकित्सकहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अन्य अस्पतालहरूमा केही घन्टाको निम्ति मात्रै अक्सिजन बाँकी रहेको बताइएको छ भने अक्सिजनको अभावमा कैयौँ बिरामीहरूले ज्यान गुमाएका छन् ।
दिल्ली, महाराष्ट्र, उत्तर प्रदेश, गुजरात, राजस्थान लगायतका राज्यहरु यतिवेला अक्सिजनको अभाव देखिएको छ । अभाव यति चरम रुपमा देखिएको छ कि अक्सिजन अभावले सर गंगाराम अस्पतालमा गत २४ घण्टामा २४ जनाले ज्यान गुमाएका छन् । अन्य ६० जनाको ज्यान खतरामा रहेको अस्पताल स्रोतले बताएको छ ।
अस्पतालमा भेन्टिलेरले समेत राम्रोसँग काम नगरिरहेको बताइएको छ । माक्स अस्पतालले यहि कारण देखाँउदै नयाँ विरामी भर्नामै रोक लगाएको छ । अर्डेन्ट गणपती अस्पतालले सरकारी अस्पतालमा विरामीे रिफर गर्न थालेको छ । अझ बढ्दो अभावका कारण अक्सिजनको लुटपाट हुन थालेका विवरणहरु आएका छन् ।

विहारको पटनामाका अस्पतालले पनि अक्सिजन अभावका कारण संक्रमितको भर्ना लिन छाडेका छन् । सामान्य अवस्थामा भन्दा ७ गुणा बढि अक्सिजनको माग बढेको त्यहाँका अस्पतालले बताएका छन् । भारतमा एक राज्यबाट अर्को राज्यमा अक्सिजनको ओसारपसारमा पनि स्थानीय अधिकारीहरुले रोक लगाउँदा अवस्था झनै नाजुक हुँदै गएको छ ।

दिल्ली लगाएतका केही राज्यहरुले अक्सिजनको आपूर्तिमा हुँदै आएको रोकावटमा केन्द्र सरकारलाई हस्तक्षेपका लागि आग्रह गरे पनि कुनै सुनुवाइ हुन सकेको छैन ।
अहिले भारतका ९९ प्रतिशतभन्दा धेरै सघन उपचार कक्षका शैय्या बिरामीले भरिएको अधिकारीहरूले जनाएका छन् । कोरोना कहरले भारतमा यस्तासम्म हृदयविदारक दृश्य देखिन थालेका छन कि शैयया अभावका कारण संक्रमितले स्ट्रेचरमै र एम्बुलेन्स ज्यान गुमाउन बाध्य भएका छन् । वेड भरिएपछि अस्पतालहरुले ढोकामै वेड खाली नभएको सुचना टास्न थालेका छन् ।

उत्तर प्रदेश र मध्य प्रदेशका कयौं जिल्लामा शवको अन्तिम संस्कारका लागि घण्टौँ प्रतीक्षा गर्नु परिरहेको छ । खासगरी उत्तर प्रदेशको राजधानी लखनउ र मध्य प्रदेशको राजधानी भोपालमा दिनदिनै चिन्ताजनक अवस्था बढ्दो छ । उत्तराखण्ड राज्यमा बढ्दो संक्रमणका कारण त्यहाँ रात्रिकालिन कफ्र्यु जारी गरिएको छ ।