राजनीति

एमाले अन्तरकलह मिलाउन अध्यक्ष ओली र नेपालको लगातार दोस्रो भेट


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७२ बर्षे इतिहासलाई सम्झेर गर्व गर्दा कम्युनिष्ट पार्टीमा देखिने आचरणलाई हेरेर नाक खुम्च्याउनु पर्ने अवस्था पनि उस्तै छ । सात दशक लामो यात्रा पार गरेका नेपालका कम्युनिष्ट पार्टीहरु जुट्नेभन्दा धेरै फुट्ने काम गरेका छन् । त्यस्तै जुटफुटको जटिल भुमरीमा घुमिरहेको नेकपा (एमाले) को विवाद चरम उत्कर्षमा छ । तर पनि पार्टीलाई एक राख्न नेताहरुको दौडधुप चलिरहेकै छ ।

गत चैत २ गते तत्कालिन पार्टी मुख्यालय धुम्बाराहीको भेटपछि संवादहिनतामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबारदेखि संवादको श्रृंखला सुरु भएको छ । पार्टी विभाजनको सन्निकटमा पुगेका बेला दुई नेताबीचको वान टू वान वार्तालाई लिएर नेताहरुमा एमाले एक रहने आशा पुन पलाएको छ ।

त्यसकै निरन्तरता स्वरुप विहिबार पुनः ओली र नेपालबीच भेटवार्ता भएको छ । सग्लो एमाले खोजिरहेका तल्लो तहका केही नेताहरुको दौडधुपले दुई शिर्ष नेताबीच वार्ता भएपनि ठोस परिणाम निस्किएको छैन । किनकि तिक्तता भगाउन भेटवार्ता गर्ने र केही पर पुगेपछि खोइरो खनिहाल्ने नेताहरुको आचरणले विवादलाई झन जटिल बनाएको छ । यद्यपी पार्टी एकतालाई जोगाउन पुन प्रयास थालिएको ओली पक्षीय नेताहरुको भनाई छ ।

बुधबारको भेट आशाप्रद रहेका बेला पार्टी अध्यक्ष ओलीले विहिबार माधव नेपाल पक्ष फरक पार्टी बनिसकेको आरोप लगाए । पार्टीमा समानान्तर संरचना निर्माण गरिरहेको माधव पक्षले अध्यक्ष ओलीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएको छ । आरोप प्रत्यारोपकै बीचबाट तिक्तता मेट्ने प्रयास भएपनि दुबै पक्षका अडानले आ–आफ्नै बाटो लाग्नुको विकल्प दिएको छैन ।

एमाले ब्युँतिएपछि अध्यक्ष ओलीले २८ फागुनमा माओवादी केन्द्र छोडेर आएका गृहमन्त्री रामबहादुर थापा बादलसहितका नेताहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेका थिए । त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्दै आयोजक कमिटी गठन गरेको थियो । तर, नेपाल समूहले भने सर्वोच्चको फैसलासँगै पार्टी २ जेठ २०७५ कै अवस्थामा फर्किएको र त्यही अवस्थाबाट अघि बढ्नु पर्ने माग राख्दै आएको छ ।

वरिष्ठ नेता नेपालसहित ४ नेतालाई सुरुमा पार्टीबाट छ महिनाका लागि निलम्बन गरेका ओलीले पछि सांसद पदबाट किन नहटाउने भनेर स्पष्टीकरण मागेपछि दुबै पक्ष अप्रत्याशित भेटमा जुटेका हुन् । यद्यपी पुरानै रटान लगाइरहेका नेताहरुको रवैयाले एमाले सग्लो रहेन आश रहेपनि भरोसा गर्न कठिन बन्दै गएको छ ।