खेलकुद

शीर्ष स्थानमा रहँदै नेपाल फाइनलमा, उपाधिका लागि नेदरल्याण्डसँग भिड्ने


काठमाडौँ – त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले हराएको छ । काठमाडौँमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत बिहीबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि फराकिलो जित हात पारेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो । नेपालका लागि सन्दिप लामिछाने, सोमपाल कामी र कमलसिंह ऐरीले समान ३–३ विकेट लिए । सुसान भारीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले अलराउण्डर करण केसीको विष्फोटक व्याटिङको मद्तमा निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । नेपालका लागि करण केसीले १३ बलमा ७ छक्काको मदतमा ४५ रनको विष्फोटक इनिङ खेलेका थिए । आसिफ सेखले ३२ बलमा ४२ कुशल भुर्तेल १२ बलमा १६ र ज्ञानेन्द्र मल्लले २५ बलमा ४१ रन जोडे ।

दिपेन्द्रसिंह ऐरीले ३३ कुशल मल्लले १९ र विनोद भण्डारीले ८ रनको योगदान गरेका थिए । नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिजमा मलेसियाले एक खेल पनि जित्न सकेन । जितसंगै नेपाल लिग विजेताको रुपमा फाइनल प्रवेश गरेको छ । फाइनल खेल शनिबार हुनेछ । नेपालले शनिबार नेदरल्यान्ड्ससंग फाइनल खेल खेल्नेछ ।