खेलकुद

टस हारि नेपाल पहिले व्याटिङमा


काठमाडौँ – त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज हुने नेपाल र मलेसियाबीचको खेलमा नेपालले टस हारेको छ । मलेसियाले टस जितेर नेपाललाई पहिले व्याटिङको निम्तो दिएको हो ।
सिरिजको लिग चरणको अन्तिम खेलमा नेपाल र मलेसिया भिड्दै छन् । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ः१५ बजे सो खेल सुरु हुनेछ । नेपाल भने यसअघि नै फाइनलमा पुगिसककेको छ । सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । वर्षाले पटक—पटक प्रभावित भएको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएसँगै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो । नेपालसँगै नेदरल्यान्ड्स पनि फाइनल पुगेको छ । मलेसिया भने बाहिरिएको छ । अब लिगको अन्तिम खेलमा आज नेपाल र मलेसिया भिड्ने छन् । उक्त खेलले शीर्ष स्थान र दोस्रो स्थानमा रहने टिमको तय हुनेछ । मलेसियालाई हराएमा नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुग्नेछ । नेपाल पराजित भएमा दोस्रो स्थानमा रहदै फाइनल यात्रा तय गर्नेछ ।

नेपाल र नेदरल्यान्ड्स यसअघि नै सिरिजको फाइनलमा पुगिसकेकाले खेल प्रतिष्ठाको लडाइँको रुपमा रहेको छ।
समूह चरणका सबै चार खेल खेलेको नेदरल्यान्ड्सको ५ अंक भएको छ भने अन्तिम खेलअघि नेपालको ४ अंक छ। मलेसियाले १ अंक मात्र जोडेको छ।

नेपालले सुरुवाती दुई खेलमा जित हात पारेको थियो। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेट र दोस्रो खेलमा मलेसियालाई पनि ९ विकेटले हराएको थियो। तेस्रो खेलमा भने नेपाललाई नेदरल्यान्ड्सले ३ विकेट पराजित गरेको थियो। उपाधिका लागि नेपाल र नेदरल्यान्ड्सबीच आगामी शनिबार प्रतिस्पर्धा हुनेछ।