राजनीति

कम्युनिष्ट पार्टीहरुले ७२औं स्थापना दिवस मनाउँदै


काठमाडौँ – कम्युनिष्ट पार्टीहरुले ७२ औं स्थापना दिवस आज मनाउँदै छन् ।
७२ वर्षअघि पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसहित निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठले नेकपा गठन गर्नुभएको हो । नेकपा स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझीलगायतका नेताहरु पनि जोडिनुभएको थियो । नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेकपाले सामान्तवाद, दलाल–नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो । ७२ वर्षसम्म आइपुग्दा नेकपा विभिन्न समयमा टुटफुट र एकता हुँदै आएको छ । नेकपा एमालेले ठूलो दलको हैसियतामा सरकारको नेतृत्व गरिरहेको छ । यसअघि एमाले र माओवादी गठबन्धनले झण्डै दुई तिहाई बहुमत ल्याएको थियो । एमाले र माओवादी एकता भएर नेकपा बनेपनि आन्तरिक विवाद र अदालतको आदेशपछि दुबै दल पुरानै अवस्थामा फर्किएका छन् । यसबीचमा कम्युनिस्ट नेताहरु मनमोहन अधिकारी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी ओली प्रधानमन्त्री बन्नुभएको छ ।