राजनीति

ओली र माधवको धेरै पछिको भेट, दुवै नझुक्ने लाइनमा, अब जोगिएला त एमाले ?


काठमाडौँ – अनुशासनहिन गतिविधि गरेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले मावध पक्षका नेतालाई स्पष्टीकरण सोधेपछि एमाले भित्रको विवाद थप पेचिलो बन्दै गएको छ । आफूहरुलाई ओलीले आत्मसर्मपणको अवस्थामा पुर्याएको भन्दै ओलीसँग संघर्ष गर्ने माधवपक्षको तयारी छ ।

खरो प्रश्न सहित स्पष्टीकरण सोधिएपछि एमालेमा ओलीविरुद्ध माधव पक्ष पनि कडा रुपमा प्रस्तुत भएको छ । ओलीले घमण्डको हद पार गरेको निष्कर्ष निकाल्दै ठेगान लगाइदिने भन्दै माधव नेपाल भीम रावल र घनस्याम भूषाल लिएर सर्वाेच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका छन् । बुधबार अपरान्हपछि सर्वाेच्च प्राङगण पुगेका माधव नेपाल सहितको रिट निवेदन सार्वेच्चले आज नभ्याएको भन्दै दर्ता गरेको छैन । सर्वाेच्चले भोली निवेदन दर्ता गर्ने वचन दिएर नेताहरुलाई फर्काइदिएका छन् । निवेदनमा राजनीतिक दलसम्बन्धी ऐन विपरीत पदमुक्त गर्न खोजिएको माधव पक्षको दावी छ । आफूहरुको पद जोगाइदिन सर्वाेच्चमा पुगेका माधव पक्ष के अब साँच्चै ओलीविरुद्ध लड्न अस्त्रविहिन बनेका हुन् त ?
विश्लेष्कहरुका अनुसार भने एमाले जोगाउन ओली र माधव पक्ष दुवैले लचकता अपनाउनु पर्ने र आत्माआलोचना गरेर पार्टीलाई पुरानै अवस्थामा पुर्याउनु हितकर हुने बताउँछन् । मूद्यामामिलाबाट एमालेले निकास नपाउने उनीहरुको तर्क छ ।

अझ एमालेका माधव पक्षीय सांसदले अन्य प्रदेशमा समेत फ्लोरक्रस गर्ने चर्चा चलेपछि पार्टी अध्यक्ष ओलीले पार्टीभित्र अन्तिम अस्त्र प्रहार गर्दैछन् । आफ्नो पद जोगाउन हठात संसद नै भंग गर्नेसम्मको हर्कत गर्ने ओलीका लागि पार्टीभित्र आफ्ना सत्रुहरुलाई सिध्याउन कारवाही गर्ने नीति लिनु सामान्य भएको कतिपयको तर्क छ ।

एमालेभित्रको रडाको यो हदसम्मको शिखरमा पुग्ला भन्ने सायदै कार्यकर्ताले सोचेका होलान् । नेकपाबाट फुटेर पूर्ववत एमाले र माओवादी केन्द्र हुने, एमालेभित्र पनि यो लगाइँ अझ अघि बढ्यो भने अर्काे फुटको स्थितिमा पुग्ने देखिन्छ । एमालेको यो हदसम्मको प्रदुषित राजनीतिको साक्षि बनिरहेका कार्यकर्ताहरुमा नैराश्यता पैदा भएको छ । देशले स्थायीत्व प्राप्त गरेको अवस्थामा पार्टी फुट्यो कि जुट्यो भन्दा पनि नेताहरुले आफ्नो लडाइँका कारण व्यवस्था नै धरापमा पार्ने हो की भन्ने भय श्रृजना गराइदिएका छन् ।