सेयर बजार

नेप्सेमा उच्च अंकको गिरावट


काठमाडौँ – साताको चौथो कारोबारको दिन बुधवार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिन मंगलबार झिनो अंकले सुधारिएको नेप्से परिसूचक आज भने दोहोरो अंकले घटेको हो । बुधवार नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २ हजार ६ सय ३२ दशमलव २० अंकमा झरेको छ । त्यस्तै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव २१ अंकले घटेको छ । बुधवारको बजारमा ५ अर्ब ७७ करोडको कारोवार हुँदा १ करोड ३७ लाख कित्ता सेयर खरिद बिक्री भएका छन् ।
आज म्युचुअल फण्ड बाहेक अन्य सबै उपसमूहमा गिरावट आएको छ । बुधवार चार वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलले वृद्धि भएका छन् । सबैभन्दा धेरै कमाउनेहरुको शिर्ष स्थानमा ज्योति लाइफ इन्स्यारेन्सका लगानीकर्ताहरु देखिएका छन् । ज्योति लाइफको बुधबार ९ दशमलव ९६ अंकले सेयर मूल्य बढेको छ । कारोबार संख्या तथा कारोबार रकमका आधारमा भने पहिलो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक देखिएको छ ।