कोरोना विशेष

कोरोना नियन्त्रणका लागि यस्ता छन् आजदेखि लागु हुने नयाँ नियमहरु


काठमाडौँ – पछिल्लो समय कोरोना संक्रमणले खतराको घण्टी बजाएसँगै आजदेखि लागु हुने गरी सरकारले कडाई गरेको छ । सरकारले हिजै निर्णय गरे पनि साँझ मात्रै औपचारिक जानकारी दिएकाले नयाँ नियमहरु आजदेखि लागु हुनेछन् ।

सरकारले कोरोना संक्रमण गम्भीर बन्दै गएका मुख्य सहरमा सबै विद्यालय तथा कलेजसहित शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द सहितको आदेश जारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्लेसबै शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्ने सहितको आदेश जारी गरेको हो ।

आजदेखि उपत्यकाका सबै नगरपालिकाहरु, मेचीनगर, विराटनगर वीरगञ्ज, भरतपुर, पोखरा, जनकपुर, नेपालगञ्ज, धनगढी, सिद्धार्थनगर, इटहरी, बनेपा, धरान, दमक, राजविराज, धुलिखेल, वीरेन्द्रनगर, भीमदत्त नगरका सबै शैक्षिक संस्था बन्द हुनेछन् । परीक्षा भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पनि सरकारले आदेश दिएको छ । अन्य सहर तथा स्थानमा भने आवश्यकताअनुसार स्थानीय निकायले निर्णय गर्ने पनि सरकारले उल्लेख गरेको छ ।

त्यस्तै होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने व्यवस्था गरिएको छ त्यसपछि भने होम डेलिभरी मात्र गर्न पाइने छ । यो नियम भने हिजैदेखि आंशिक पालना भएको थियो ।

त्यस्तै मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जनाभन्दा बढी सहभागी हुन पाइदैन । सरकारले ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ नै सार्वजकि गरेको थियो । उक्त आदेशमा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको छ ।

त्यस्तै सिनेमा हल, पार्टी प्यालेश, जिमखाना, फुटसल, सभा, आमसभा, जुलुस,दर्शकसहितको खेलकुद पनि बैशाख मसान्तसम्म रोक लगााउने निर्णय गरको छ । सरकारले जारी गरेको आदेश अटेर गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।