राजनीति

लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्य कारवाहीमा परेपछि जसपा अध्यक्ष ठाकुर निर्वाचन आयोगमा

निलम्वित सांसद्हरु पनि सर्वोच्चमा जाने तयारीमा


काठमाडौँ – लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुग्नुभएको छ ।
ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको बताउनुभएको छ । पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको ठाकुरको जिकिर छ । यता प्रदेश सभाबाट पदमुक्त भएका जसपाका ४ जना प्रदेश सभा सदस्य कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने भएका छन् । पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश सभा सचिवालयले पदमुक्त गरेको भन्दै त्यसविरूद्ध चारै जना आजै सर्वोच्च अदालतमा जाने भएका हुन् । प्रदेश सभा सचिवालयले हिजो सूचना जारी गर्दै समाजवादी पार्टीका सन्तोष पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुक्त गरेको थियो ।