राजनीति

विप्लव समूहका नेता माइला लामा धरौटीमा रिहा


काठमाडौँ – सङ्खुवासभा जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन् ।

सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीवार रिहा भएका हुन् । सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको सहमतिअनुसार गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको थियो ।

विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज लामा २५ हजार धरौटी बुझाएर हिरासत मुक्त भएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्ली प्रसाईँले जानकारी दिए। नेता लामा विसं २०७६ साउन ५ गते काठमाडौँबाट पक्राउ परेका हुन् । लामालाई विभिन्न जिल्ला हुँदै सङ्खुवासभा ल्याइएको थियो ।

जिल्ला अदालत चैनपुरले सङ्गठितरूपमा हातहतियार ओसारपसार, सञ्चय तथा प्रयोग मुद्दामा रु २५ हजार धरौटी माग गरेको थियो। धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत चैनपुरले विसं २०७६ फागुन ७ गते कारागार चलान गरेको थियो ।

विप्लव समूहले आफ्ना नेता–कार्यकर्ता रिहा गर्ने सहमति पालना नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । नेता लामालाई परिवारको जिम्मामा छाडिएको छ ।