देश

राजीनामा दिन पत्रकार सम्मेलन गर्नै पर्दैन : मन्त्री श्रेष्ठ


काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले मन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद् पुनर्गठन भए आफू स्तत बाहिरिने भएकाले राजीनामा दिन आवश्यक नभएको बताए ।

म पत्रकार सम्मेलन गर्दिनँ, किन गर्ने पार्टीले बनाएको हो, पार्टीले फिर्ता बोलाउँछ । मन्त्रिपरिषद् पुर्नगठन प्रधानमन्त्रीले गर्ने हो । पत्रकार सम्मेलन गर्नै पर्दैन, उनले भने । मन्त्री पद नछाड्ने मनसाय पनि आफ्नो नभएको उनको भनाइ छ । मन्त्रिपरिषद् पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीलाई छ ।

उहाँले पुनर्गठन गर्ने वित्तिकै हामी स्वतः छाडिहाल्ने हो नि । तिललाई पहाड बनाउने काम भयो के यहाँ, उनले भने । उनी एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन् । पार्टीले आफ्नो पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाइसकेको छ । उनीहरूको ठाउँमा नयाँलाई पालो दिइने छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भने पत्रकार सम्मेलन गरेर सरकार छाड्दैछिन् ।