समाचार

भोलिदेखि उपत्यकासहित बागमती प्रदेशका सबै पेट्रोल पम्प बन्द हुने


काठमाडौँ – बुधबारदेखि बागमती प्रदेशका पेट्रोल पम्प बन्द हुने भएको छ । पम्पमा कार्यरत मजदुरलाई कोरोना भाइरस संक्रमणविरुद्धको खोप व्यवस्था नगरिएको भन्दै बुधबारदेखि उपत्यकासहित प्रदेशका सबै पम्प बन्द गर्न लागिएको हो ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका कार्यकारी कार्यालय सचिव नारद भण्डारीले फ्रन्टलाइनमा काम गर्ने पम्पका मजदुरलाई खोप नदिएका कारण बुधबारदेखि बागमतीका पम्प बन्द हुने बताए । उनले धादिङबाहेक बागमतीका सबै जिल्लाका पेट्रेल पम्प बन्द हुने बताए ।

कोरोनाविरुद्धको खोप नपाएको भन्दै इन्धन ढुवानी गर्ने चालकहरुले आइतबारबाट अवरोध सुरु गरेका थिए ।

बागमती प्रदेशका लागि भारतको बरौनीबाट पेट्रोल तथा बाराको अमलेखगञ्जस्थित निगमको डिपोबाट डिजेल ढुवानी गर्ने र थानकोट प्रादेशिक डिपोबाट पम्पहरुमा पेट्रोलियम ढुवानी गर्ने चालकहरुले खोप पाउनुपर्ने भन्दै सेवा रोकेर आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले चैत्र ३१ गतेदेखि अग्रपंक्तिमा खटिने सेवा क्षेत्रका सवारी चालक तथा सहचालकलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको थियो । त्यसबेला पेट्रोलियम चालक तथा सहचालकले खोप लगाएका थिएनन् ।