राजनीति

प्रधानन्यायाधीश राणा भने – हमाल परिवारसँग २०४१ सालदेखि आउजाउ छैन


काठमाडौँ – मन्त्रिपरिषदमा भागबण्डा खोजेको विषयमा सत्यता नभएको जवाफ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दिएका छन् ।

आइतबार नेपाल बारका पदाधिकारीहरुसँगको भेटवार्तामा राणाले गजेन्द्र हमाललाई आफू मन्त्री बनाउन सिफारिस नगरेको बताएका हुन् ।

राणासँग जोडिएर आएका विषयप्रति ध्यानाकर्षण गराउन बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा गएको पदाधिकारीहरुलाई राणाले मन्त्री बनाउन नभइ नाम जोडिएपछि नबनाउन चाहिँ आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेको प्रष्टीकरण दिएका हुन् ।

भेटमा राणाले हमाल परिवारसँग अहिले आफ्नो आउजाउ नभएको बताएको बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

‘हमालकी बहिनीसँग विवाह भएको हो । २०४१ सालमै उनको निधन भयो । अहिले हमाल परिवारसँग मेरो आउजाउ छैन । मेरो नाम जोडेर मन्त्री बन्ने कुरा आएपछि मैले प्रधानमन्त्रीलाई नै नियुक्त नगरिदिनुहोस् भनेको थिएँ । तर मन्त्री नियुक्त गर्नुभयो । पछि छाड्नु भो । यसमा मेरो कुनै संलग्नता छैन ।’

राणाले हमाल परिवारसँग आउजाउ नभएको दाबी गरेपछि मन्त्रीको पदभार ग्रहण गर्दै गजेन्द्र हमालले नाता सम्बन्ध भएपछि आउजाउ हुन सामान्य भएको बताएका थिए । चर्को दबाबमा परेपछि उनले मन्त्री नियुक्त भएको ४० घण्टा पनि बित्न नपाउँदै असोज २४ गते राजीनामा दिएका थिए ।