बिजनेस

पछिल्लो साता नेप्सेमा उच्च अंकको सुधार, कारोबार रकम पनि बढेपछि लगानी कर्ता उत्साही (भिडियोसहित)


काठमाडौँ – पछिल्लो साता नेप्से परिसूचकमा उच्च अंकको सुधार आएको छ । कारोबार रकममा पनि बढेपछि शेयरलगानी कर्ता उत्साही बनेका छन् ।।

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको छ । गत साताको विहिबार अन्तिम कारोबारको दिन परिसूचक ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार उकालो लाग्दा एक दिन भने गिरावट आएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १६५.२८ अंकल भएर २ हजार ८५७.७५ विन्दुमा पुगेर रोकिएको छ । अघिल्लो साता १६७.९७ अंकले बढेको नेप्से परिसुचक यो साता १६५.२८ अंकले बढेको हो । तर, गत साताको भन्दा यो साता नेप्से परिसूचक २ अंकले गिरावट आएको छ ।

पछिल्लो चार महिना देखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढ्दै गएको छ । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा उच्च अंकले वृद्धि भएको थियो । जुन दिन नेप्से परिसूचक परिसूचक ७३.०१ अंक बढेर २७६५.४७ विन्दुमा पुगेको थियो । आइतबार कारोबारमा आएका २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार कित्ता शेयर ७ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक वृद्धिमा निरन्तरता पाएको थियो । उक्त दिन नेप्से परिसूचक १९.४३ अंक बढेर २ हजार ७८४.९५ विन्दुमा पुगेको थियो ।

मंगलबार पनि नेप्से परिसूचक ४९.१९ अंकले बढेर २ हजार ८३४.१३ विन्दुमा पुगेको थियो । तर बुधबार भने सातामा तीन दिनको कारोबारमा निरन्तर उकालो लागिरहेको नेप्सेमा ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा झरेको थियो । यस्तै साताको अन्तिम कारोबारको दिन बिहीबार भने बजार बढ्यो । विहिबार नेप्से परिसूचक ५४.१२ अंक बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेको छ । पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ ।

गतसाता २ खर्ब ३६ अर्ब २ करोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पति यो साता २ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँले बढेको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३८ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । यो साता २ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँ सम्पति बढेर ४० खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ कायम भएको छ ।