देश

ठेकेदार फरार भएपछि सर्लाहीको बडकी पोखरीको सौन्दर्यकरण निर्माणकार्य अलपत्र (भिडियोसहित)


काठमाडौँ – ठेकेदार फरार भएपछि सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न–७, मुसैली स्थित बडकी पोखरीको सौन्दर्यकरण तथा छठघाटको निर्माणकार्य अलपत्र परेको छ । १५ महिनामा सम्पन्न गरिसक्ने सम्झौता भएकोमा ३ महिना बाँकी रहँदा मात्र २० प्रतिशत काम सम्पन्न छ । आन्तरिक पर्यटनलाई बढावा दिन स्थानीय केही युवाहरुको पहलमा मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न–७ मुसैलीको बौधी देवी जनता माविको अधिनमा रहेको दशकौं पुरानो बडकी पोखरीको सौन्दर्यकरण तथा छठघाटको निर्माणकार्य अलपत्र परेको छ ।

करिब १० बिगहा क्षेत्रफलमा फैलिएको उक्त पोखरीलाई सौन्दर्यकरण गरेर पार्क र छठीघाट निर्माण गर्न प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गत गत वर्षको असोज ४ गते १५ महिनामा काम सम्पन्न गर्ने गरि करिब ६ करोर १२ लाख ९३ हजार रुपैयाँमा एम.आर. आर जे कमल जेभी जनकपुरधामलाई ठेक्का दिएको थियो । तर सम्झौता अनुसार काम सम्पन्न गर्ने समय बित्न अब ३ महिना बाँकी रहँदा २० प्रतिशत मात्र काम भएको छ । पोखरीको सौर्न्दर्यकरण गर्न ठेकेदार कम्पनीले बनाएको पर्खाल काम सुरु गरेको एक महिना नबितदै भत्कीएको छ । सम्झौता अनुसार २०७८ साल पुस ६ गते यसको समय सकिदैं छ । केवल चार महिनामात्र काम गरि अचानक कसैलाई कुनै जानकारी नदिई ठेकेदार खुसीलाल ठाकुर फरार भएपछि निर्माणकार्य अलपत्र अवस्थामा पुगेको स्थानीय युवा सुजित यादवले बताए ।

ठेकेदार फरार भएपछि काम लथालिङ्ग अवस्थामा रहेको छ । सो अवधीमा बनाइएको पर्खाल, पोखरीको किनारमा घाट बनाउनको लागि गाडिएको फलामे छड सबै भत्किएका छन् । सौन्दर्यकरण गरिनुपर्ने उक्त पोखरी श्री बौधीदेवी जनता माविको अधिनमा रहेपनि विधालयका प्रअ अथवा व्यवस्थापन समिति तथा स्थानीयबासी समेतलाई कुनै जानकारी नगराई ठेकेदारले मनपरि गरेको स्थानीयको गुनासो छ ।

पोखरीको छेउमै बौधी माई, शंकर भगवान लगायत अन्य थुप्रै देवी देवताहरुको दशकौं पुरानो मन्दिरहरु रहेका छन् । उक्त पोखरीमा गाउँभरीका महिला तथा पुरुषहरु छठ पुजा लगायत अन्य पुजा पर्व मनाउँदै आएका छन् । तर ठेकेदारको हेलचक्राई तथा लापरवाहीका कारण मलंगवा नगरपालिका वडा न–७ मुसैलीका सम्पूर्ण बासिन्दाको आस्थासंग खेलवाड भईरहेको एक स्थानीयले दुखेसो पोखे ।

बिचमै काम रोकेर ठेकेदार खुसीलाल महतो सम्पर्क विहिन भएपछि विगत २ महिनादेखि निर्माणकार्य ठप्प भएको छ । ठेकेदार कम्पनी सँग योजना सम्पन्न गर्न बाँकी रहेको ३ महिनाको अवधि भित्र निर्माणकार्य सम्पन्न हुने कुनै छाटकाट देखिदैन । योजनामा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार तथा अनियमितताको छानविन गर्न अख्तियारको केन्द्रीय कार्यालय काठमाडौ र क्षेत्रीय कार्यालय बर्दिबासमा समेत उजुरी गरिसकेको तर उताबाट हालसम्म कुनै प्रतिक्रिया आइनसकेको स्थानीय युवा सुजित यादवले बताए ।

काममा ढिलासुस्ती ,हेलचक्राइ तथा कमसल सामाग्रीहरुको प्रयोग गरेर गुणस्तरहीन काम गरेकोले ठेकेदार कम्पनी माथि कारवाही हुनुपर्ने स्थानीयहरुको माग छ । बनाइएका सम्पुर्ण भौतिक संरचनाहरु २ महिना नबित्दै भत्किएकाले निर्माणमा कमसल सामाग्री प्रयोग गरेर ठेकेदार कम्पनी र प्रविधिकको मिलोमतोमा व्यापक अनियमितता भएको उनीहरुको आरोप छ ।