राजनीति

जसपा अध्यक्ष ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकताबारे निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधवार प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै यसअघि ठाकुरले दायर गरेको त्यही विषयसँग सम्बन्धित रिट निवेदनसँगै राखेर सुनुवाइ गर्न आदेश दिएको हो ।

ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिएपछि उपेन्द्र यादवले जसपाको आधिकारिकता पाएको विषयले कानुनी रुपमा समेत वैधता पाएको छ । साउन ११ गते यादव पक्षले जसपाको आधिकारिकता पाएपछि महन्थ ठाकुर साउन १५ गते उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च पुग्नुभएको थियो ।

निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले निर्धारण गरेको प्रकृयालाई अवलम्बन गरी दलको आधिकारिकताको विवाद निरुपण गरेको हुँदा अन्तरिम आदेश जारी गर्नु नपरेको सर्वोच्चको आदेशमा उल्लेख छ ।