राजनीति

गाउँ छिरे शिर्ष नेता : ओलीदेखि देउवासम्म काठमाडौँ बाहिर, महाधिवेशनको चटारो


काठमाडौँ – ठूला राजनीतिक दलहरु यतिबेला पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा छन् । लामो समयसम्म नेतृत्व परिवर्तन जस्ता कुरामा तयारी गरिरहेका यी दलहरु महाधिवेशन नजिकिएसंगै घनिभूत तयारीमा जुटेका हुन् । यसैकारण काठमाडौं नै रित्याएर नेताहरु देशदौडाहामा केन्द्रीत बनेका छन् ।

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार प्रदेश एक अधिकांश जिल्लाको भ्रमणमा थिए । यसअघि विहिबार सुदुरपश्चिम प्रदेशमा बाढी, पहिरो र डुबानले पु¥याएको क्षति अवलोकनका लागि पुगेका देउवा आइतबार प्रदेश एकको भ्रमणमा गएका हुन् । मुलतः बाढी, पहिरोको क्षति अवलोकन भनेपनि देउवाले त्यहाँ पार्टीको महाधिवेशन लक्षित भेटघाटसमेत गरेका छन् । त्यहाँ देउवाले कार्यकर्ता र प्रभावितहरुका बीचमा राहतलगायतका कुरामा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।

उस्तै भेटघाट काँग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत गरिररहेका छन् । पार्टी महाधिवेशन नजिकिएका बेला पौडेल काठमाडौँलाई छाडेर गाउँ पसेका हुन् । बाढी पहिरो प्रभावित क्षेत्रमा शनिबार देउवा शैलीमै अवलोकन गरेका पौडलले महाधिवेशन लक्षित भेटघाट र आफ्नो पक्षमा माहोल बनाउने काम गरेका थिए । महाधिवेशन लक्षित भेटघाटमै काँग्रेसका अर्का नेता प्रकाशमान सिंह जनकपुरमा छन् । आगामी महाधिवेशनबाट सभापति देउवाविरुद्ध उम्मेद्वारी दिने तयारी गरेका सिंहले कार्यकर्ताकै बीचमा देउवाले पार्टी कब्जाको प्रयास गरेको आरोप समेत लगाएका थिए ।

आइतबार विहानै काँग्रेस नेता कृष्णप्रसाद सिटौला र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विमानस्थलमा जम्काभेट भयो । शनिबारमात्रै समयमै काँग्रेसले महाधिवेशन नगरेको भन्दै आलोचनामा उत्रिएका एमाले अध्यक्ष ओलीले सिटौलासंग काँग्रेसको हालखबर सोधे । दुबै जना आ–आफ्नै पार्टीको महाधिवेशन लक्षित गतिविधिका लागि झापा उडेका हुन्् । गृहजिल्ला झापामा तीनदिन रहने ओलीले पारिवारिक भेटघाटसहित महाधिवेशन लक्षित पार्टी गतिविधीमा सक्रिय बनेका छन् ।

महाधिवेशन नजिकिएका बेला काँग्रेस महामन्त्री शशांक कोइराला भारत दौडाहामा छन् । उस्त राष्ट्रिय सम्मेलनमा होमिएर पहिलो पार्टी बनाउने उद्घोष गरेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत तीव्र दौडधुपमा छन् । केहीदिन अघि सिन्धुपाल्चोकमा पार्टी गतिविधि र जीपलाइनको मस्तीमा भुलेका प्रचण्ड आइतबार भने काठमाडौंमै केन्द्रीत बनेका थिए ।
ठूला जनाधार भएका ठूला पार्टी राष्ट्रिय महाधिवेशनको तीव्र तयारीमा छन् ।

नेकपा एमाले आगामी मंसिर १० देखि १२ सम्म राष्ट्रिय महाधिवेशन गर्ने घनिभूत तयारीमा छ भने नेपाली काँग्रेसले समेत मंसिरकै ९ देखि १३ सम्म मिति तय गरेको छ । भलै महाधिवेशन तोकिएकै मितिमा हुने सम्भावना टर्दै गएको छ । नेकपा माओवादी केन्द्रसमेत अबको केही महिनाभित्र राष्ट्रिय सम्मेलनको तयारी गरेको छ । फलतः नेताहरु पार्टीभित्र पकड जमाउने र आगामी निर्वाचनसम्मै जनलहर कब्जा गर्ने अपेक्षासहित देश दौडाहामा केन्द्रीत बनेका हुन् ।