राजनीति

ओलीले माधवको रिस तेस्रो धारमा खन्याउँदै, ओलीले छड्के नजरले पनि हेरेनन्


काठमाडौँ – कुनै बेला माधवकुमार नेपाल समहूमै रहेका नेताहरु एमालेमै रहेपनि पार्टीभित्र अस्तित्वको लडाइँमा रहेका छन् । १० बुँदे माग अघि सारेर अध्यक्ष ओलीसंग राजनीतिक बार्गेनिङ गरिरहेका नेताहरुको संघर्ष परिणामबिहिन बन्दै गएको देखिन्छ ।

एमालेबाट छुट्टिएर बरिष्ठ नेता माधव कुमार नेपालले अर्काे गठन गर्दापनि उनको भित्री सारथीहरु एमालेमै छ । एमालेभित्रै संघर्ष गर्दै राजनीति जोगाउने ध्याउन्नमा रहेका उनीहरुले संघर्षको हतियार चाहीँ १० बुँदे मागलाई बनाएका छन् । शुक्रबार एमालेको केन्द्रिय कमिटि बैठकमा पनि आफूलाई तेस्रो धार बताउनेअसन्तुष्ट पक्षले आफूलाई दरिलो रुपमा प्रस्तुत गर्न सकेनन् ।

उनीहरुको मागलाई अध्यक्ष केपी शर्मा ओलीले छड्के नजरले पनि ध्यान दिएको देखिँदैन । एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा एमालेको तेस्रो धारका नेताहरुले बैठक औचित्यहिन् बनेको बताएका छन् ।
उनीहरुले एकता प्रस्तावको अक्षरशः पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन् ।

विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्तावेजमाथि छलफल गर्नसुरु भएको एमाले केन्द्रीय समिति बैठकमा उनीहरुले नेतृत्वलाई दवाव दिने कोसिस गरेका छन् । माधव नेपालको बहिर्गमनपछि असन्तुष्ट धारको खासै बलियो उपस्थीति देखिएको छैन । असन्तुष्टहरुको विरोधको आवाजलाई स्वयम अध्यक्ष ओलीले पनि गम्भीरतापूर्वक लिएको देखिन्न । बरु केन्द्रीय कमिटिको बैठकलाई तर्काउदै १० बुँदे मागबारे स्थायी कमिटिमा छलफल गर्ने आश्वासन दिएका छन् ।

एमालेमा असन्तुष्टहरुजसरी पनि आफ्नो अस्तीत्वको खोजीमा देखिन्छन् भने ओली समूह उनीहरुलाई गम्भीरतापूर्वक सुन्ने मुडमा समेत देखिन्नन् । एकता प्रस्ताव भन्दै गत असार २८ गते एमालेका १० नेता रहेको कार्यदलले १० बुँदे प्रस्ताव अघि सारेको थियो । जसमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील बनाउनुपर्ने मूल आशय थियो । तर, उक्त प्रस्ताव कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिम, बागमती र प्रदेश १ मा एमालेको झगडा चर्किँदै गएको छ ।


जेठ २ मा फर्कँदा भीम रावल सुदूरपश्चिमको इञ्चार्ज हुनुपर्नेमा अध्यक्ष ओलीले माओवादीबाट आएका लेखराज भट्टलाई नै इञ्चार्जका रूपमा काम गर्न निर्देशन दिएका छन् । यता बागमती प्रदेशमा पनि अष्टलक्ष्मी शाक्य इञ्चार्ज हुनुपर्नेमा रामबहादुर थापा बादलले उक्त भूमिका निर्वाह गरिरहेका छन् । यस्तै प्रदेश १ मा भीम आचार्यले इञ्चार्जको भूमिका निर्वाह गर्न पाएका छैनन् ।

एमाले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले यसअघि १० बुँदे प्रस्ताव हुबहु भन्दा पनि रचनात्मक ढङ्गले कार्यान्वयन गर्ने भन्दै बेवास्ता गर्दै आएको तेस्रो धारका नेताहरूको गुनासो छ । एमालेमा तेस्रो धारका नेताहरुमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।