खेलकुद

एन्फा दुई चिरा : के अब्दुल्लाह पनि राजनीतिमा मिसिएका हुन ?

निरिह एन्फा


काठमाडौँ – राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक संजालमार्फत राजीनामा दिने घोषणा गरेसँगै नेपाली फुटबल क्षेत्र आश्चर्यमा पर्यो । उनले आफ्नो राजीनामाका कारण वरिष्ठ उपाध्यक्ष रहेको खुलाएपछि त झनै फुटबल क्षेत्रमा भूकम्प नै गयो ।

पछिल्लो एक सातादेखि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सबैको ध्यान आफूतिर तानेको छ । कहिले आर्थिक मामिलामा त, कहिले खेलाडी छनौट सधैं जस्तो विवादमा तानिरहने एन्फा यस पटक भने नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताईरीको राजीनामा पछि छताछुल्ल नै हुने गरी बाहिर निस्कियो । एन्फा अहिले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित दुई धारमा छुट्टिएको छ । एन्फामा चुनाव आउन एक वर्षभन्दा बढी दिन बाँकी रहँदा अहिले देखि नै चुनावी माहोल बनेको संकेत पछिल्लो केही गतिविधिले देखाएको छ ।

नेम्वाङ र प्रशिक्षक अल्मुताइरीको विवादलाई पनि आगामी चुनावसँग जोडेर हेरिएको छ । हरेक क्षेत्रमा विवाद हुन जरुरी छ । यदि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर फुटबलका लागि विवाद गरिन्छ भने त्यो फाईद जनक नै हुन्छ । तर अहिले फुटबलमा जुन विवाद देखिरहेका छ त्यो कतिपय विवाद व्यक्तिगत स्वार्थ कै लागि भएको राष्ट्रिय खेलकुद् परिषद्का बोर्ड सदस्य हरि खड्काको बुझाई छ ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गत आईतबार फेसबुक मार्फत् आफ्नो राजीनामाको घोषणा गरेका थिए । सबैले आश गरेको प्रशिक्षकको अचानक यस्तो घोषणाले नेपाली फुटबलमा तहल्का नै मच्चियो । अल्मुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफ्नो काममा दखल अन्दाजी गरेका कारण आफू राजीनामा दिन एन्फा जान लागको कुरा लेखेका थिए । तर, अहिलेसम्म पनि नेम्वाङले उनलाई के कारणले दुःख दिए भनेर कहिकतै खुलाएका छैनन् ।

यद्यपि घटना भएको पाँच दिनपछि बिहीबार भने अल्मुताइरीले पनि दुई पत्रकार र नेम्वाङ विरुद्ध छानविनका लागि निवेदन दिएका छन् । यसरी हेर्दा अल्मुताइरी एन्फाको राजनीतिमा घुसेको हो कि भन्ने शंका नेपाली फुटबललाई नजिकबाट नियाली रहेका फुटबल पण्डित बताउँछन् । प्रशिक्षकको जिम्मेवारी राजनीति भन्दा पनि खेल र खेलाडीलाई कसरी माथि उकास्नेमा नै हुनु पर्ने खड्का बताउँछन् ।

अल्मुताइरीले आफूमाथि लगाएको आरोप षड्यन्त्रपूर्ण रहेको वरिष्ठ उपाध्यक्ष नेम्वाङले प्रतिक्रिया दिएका छन् । एन्फाले छानविन समिति गठन गर्नु पर्ने र त्यसमा प्रशिक्षकले लगाएको आरोप पुष्टि भए आफूले तत्कालै राजीनामा दिन तयार भएको बताएका थिए ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङको गल्ती भएको भए एन्फा कारवाही गर्न पछि हट्दैनथ्यो तर कहीकतै प्रशिक्षकको गल्ती भएको हुँदा कतार फुटबल संघसँग सम्बन्ध नबिग्रियोस् भन्ने एन्फा चाहन्छ । एन्फाले शुक्रबार नेम्वाङको मागमा केन्द्रीय कमिटीको आपतकालीन बैठक त राख्यो । उक्त बैठकमा उपाध्यक्ष नेम्वाङ, प्रशिक्षक अल्मुताइरी र दुई सञ्चारकर्मी तीन पक्षले छानविनका लागि छुट्टाछुट्टै निवेदन दर्ता गराए ।

सो बैठकमा अल्मुताइरीलाई कारवाही गर्दा नेपाली फुटबललाई अप्ठेरो पर्नसक्ने बताउँदै स्वतन्त्र छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो । विगतका दिनहरुमा साहासिक निर्णय गरेको एन्फाले यति सानो विवाद मिलाउन पनि निरिह बनेर मन्त्रालय गुहार्नु पर्ने अवस्थामा एन्फा पुगेको हो भन्ने प्रश्न दुई दशक एन्फाको अध्यक्ष बनेका गणेश थापाले वर्तमान नेतृत्वलाई गरेका छन् ।

अलमुताइरी पछिल्लो समय नेपालकै सामाजिक सञ्जालमा चर्चित पात्र मध्येमा पर्छन् । उनी आफ्नो व्यक्तिगत समय समर्थक माझ रहेर व्यतीत गरेकै कारण नेपाली फुटबल समर्थकमाझ निकै प्रिय छन् । पछिल्लो पटक राष्ट्रिय टोलीले केहि आशा लाग्दो प्रदर्शन गरेपछि उनको चर्चा झनै चुलियो । उनको सकारात्मक पक्षहरु धेरै छन् । उसले खेलाडीलाई एकताबद्ध गराएका छन् ।

नेपाली खेलाडीमा एक किसिमको हौसला दिएका छन् । नेपाली फुटबलमा केही राम्रो गरौं भन्ने उत्साह देखिन्छ । एन्फामा भएको राजनीतिको बारेमा नेपाली फुटबल प्रशंसक र प्रेमीहरुले पनि बुझ्न र थाहा पाउन जरुरी छ कि के सही हो र को गलत भन्ने । फुटबल विकास चाहने हो भने सहीलाई सही र गलतलाई गलत भन्न सक्नु पर्छ । यो विवादले नेपाली फुटबललाई गतल बाटोतिर नलगोस् । हाल अल्मुताइरी प्रशिक्षणमा लागिसकेका छन् ।