Breaking

पैसा बाँडेपछि सोलु नगरपालिकामा काँग्रेस उपमेयरका उम्मेदवार तामाङ र राजु पक्राउ


काठमाडौँ — सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको लागि नेपाली काँग्रेसबाट उपमेयरका उम्मेदवार गान्धीमाया तामाङ र काँग्रेसका नेता दावागेलु पाख्रिन राजुलाई प्रहरीले पक्राउ गरेको छ । मौन अवधीमा नगरपालिकाको बोल्दोस्थित मतदाताकै घरमा गएर पैसा बाँडेको भेटिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । आज दिउँसो मतदाताको घरघरमै गएर पैसा बाँडेको सुचना पाएपछि प्रहरी सो स्थानमा जाँदा पैसा बाँडिरहेको देखेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । वडा नम्बर ४ स्थित बोल्दोमा तामाङ समूदायको बाक्लो बस्ती रहेको छ ।

उनीहरुलाई प्रभावित पार्न उपमेयरका उम्मेदवार तामाङको नेतृत्वमा काँग्रेसका नेताहरु पैसा बोकेर पुगेका थिए । उनीहरुले प्रति मतदाता ८ देखि १० हजार रुपैयाँ सम्म बाँडेको भेटिएको छ । उपमेयरका उम्मेदवार तामाङ र वडा नम्बर ४ का यस अघिका अध्यक्ष दावागेलु पाख्रिनमाथि प्रहरीले अनुसन्धान गर्दैछ । लिखित उजुरी आएपछि यसबारे थप कानुनी कारवाहीका लागि आफूहरु अघि बढ्ने प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई पनि त्यसबारे सुचना आएको छ, सुचनाका आधारमा बोल्दोमा प्रहरी टोली पठाइसकेका छौँ, लिखित उजुरी आए थप अनुसन्धान गरि कारवाही प्रक्रिया अपनाउनेछौँ ।’