देश

श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली मलेसिया जादै


काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उनी चार दिने मलेसिया भ्रमणमा जान लागेको मन्त्रालयले जनाएको छ । श्रममन्त्री श्रेष्ठसँग यहाँस्थित मलेसियाको राजदूतावासका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले मन्त्रालयमा भेटवार्ता गरेका छन् ।

भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका साथै सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मलेसियाका कार्यवाहक राजदूत फ्याजलले उनको मलेसिया भ्रमण र त्यसका एजेण्डाबारे छलफल गरेका थिए । मन्त्री श्रेष्ठका साथमा सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसालसहितको टोली बुधवार दिउँसो मलेसिया जाने कार्यक्रम छ ।