काठमाडौं– स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरू चुनावी अभियानमा तातिएका छन् । शीर्ष नेताहरू छठ पर्वको अवसर पार्दै मधेश केन्द्रित भइरहेका छन् भने कतिपय नेताहरू आन्तरिक छलफलमा व्यस्त छन् । छठको अवसरमा मधेश पुग्ने नेताहरूको लर्को सांस्कृतिक सद्भावभन्दा पनि चुनावी राजनीतिक रणनीति र शक्ति सञ्चयका लागि केन्द्रित देखिन्छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘परिवर्तनका लागि स्थानीय तहदेखि केन्द्रसम्मकै सरकार चाहिन्छ’ भन्ने नारासहित जनतामाझ गइरहेको छ भने नेपाली कांग्रेस आफूलाई ‘बदलिएको कांग्रेस’ दाबी गर्दै मतदाता रिझाउन प्रयासरत छ । नेकपा एमालेले आफूलाई विकासवादी दलका रूपमा प्रस्तुत गरिरहेको छ भने मधेशकेन्द्रित दलहरू मधेशको मसिहाका रूपमा आफूलाई उभ्याउन लागिपरेका छन् । अहिले स्थानीय तहका लागि दलहरूदेखि स्वतन्त्र उम्मेदवारसम्मको रस्साकस्सी सुरु भइसकेको छ । स्थानीय तह निर्दलीय हुनुपर्छ भन्ने धारणा राख्दै आएको रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत उम्मेदवार खोजी अभियानलाई निरन्तरता दिइरहेको छ । यता एमालेले राष्ट्रिय भेला आयोजना गरी आफ्ना स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग छलफल गर्दै चुनावी रणनीति तयार गरिरहेको छ । उसले १३ बुँदे निर्वाचन तयारीसम्बन्धी कार्ययोजना प्रस्ताव गर्दै पार्टीलाई बलियो, व्यवस्थित र जनमुखी शक्तिका रूपमा स्थापित गर्न केन्द्रीय तहदेखि टोलसम्मै संगठन परिचालन गर्ने योजना अघि सारेको छ ।
Breaking


प्रतिक्रिया