Breaking

स्वर्णिमको दिल्ली चाकडी, स्पष्टीकरण सोध्दै रवि, फिर्ता बोलाउन बालेनलाई दबाब, रास्वपामाथि संकट (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता भारतको एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण उत्पन्न तरंगले यतिबेला बालुवाटारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुख्यालयसम्म हलचल मच्चाएको छ । गत शुक्रबार नयाँदिल्लीमा ‘नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने युग समाप्त भइसक्यो’ भन्दै वाग्लेले दिएको अभिव्यक्तिले राजनीतिक र कूटनीतिक वृत्त मात्र होइन, नागरिक समाजदेखि कलाकारहरूसमेत आक्रोशित बनेका छन् । चौतर्फी आलोचना भइरहँदा सरकार र रास्वपा नेतृत्वले उनीविरुद्ध कस्तो कदम चाल्छ भन्ने प्रश्न यतिबेला राष्ट्रिय बहसमा छ । आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर विदेशी भूमिमा दिएको यो असामान्य अभिव्यक्तिलाई लिएर कतै रास्वपा सभापति रवि लामिछानेले उनलाई मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने माग चर्किएको छ त कतै प्रधानमन्त्री बालेनले तत्काल बर्खास्त गर्नुपर्ने दबाब बढेको छ । राजनीतिक विश्लेषकहरूले त नैतिकताका आधारमा अब वाग्लेलाई मन्त्रीको कुर्सीमा बसिरहने कुनै छुट नभएको टिप्पणी गरिरहेका छन् । तर, अभिव्यक्ति दिएको साता दिन बित्न लाग्दा पनि न अर्थमन्त्री स्वयं वा अर्थ मन्त्रालयले कुनै स्पष्टीकरण दिएका छन्, न त परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय र रास्वपाले नै औपचारिक प्रतिक्रिया जनाएका छन् ।