देश

नयाँ सभापतिको खोजीमा देउवा कांग्रेस, आरजु नेपाल आउँदै, शशांकले त्याग्दै, गगनकै पुस्ताको खोजी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– १४ औँ महाधिवेशनबाट सभापतिमा चुनिएका शेरबहादुर देउवाको उत्तराधिकारी बन्ने होडबाजीमा दुई चिरा परेको नेपाली कांग्रेसमा अझै पनि उत्तराधिकारीको खोजी कायमै छ । देउवा र गगन थापा पक्षमा विभाजित भएको कांग्रेसमा थापाले महाधिवेशन नै गरेर पार्टीको नेतृत्व गरिरहँदा देउवाले भने उत्तराधिकारी भेट्न सकेका छैनन् । समानान्तर गतिविधि सञ्चालन गरिरहेको देउवा समूहले वडा, पालिका र क्षेत्रीय अधिवेशन सकाएर कात्तिक १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने तयारी गरिरहेको छ । एक निर्वाचन क्षेत्र रहेका ९ वटा जिल्लामा भने अधिवेशनबाट नेतृत्व चयन भइसकेको छ । कोशी प्रदेशको सङ्खुवासभामा मात्रै अधिवेशन सम्पन्न हुँदा देउवाको गृहप्रदेश सुदूरपश्चिम र कर्णालीमा भने अधिवेशनको रौनक निकै देखिएको छ । कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट र रुकुम पश्चिम गरी ६ जिल्लाले अधिवेशन टुङ्ग्याइसकेका छन् भने सुदूरपश्चिमका डोटी र बैतडीले पनि महाधिवेशन प्रतिनिधिको टुङ्गो लगाइसकेका छन् । गगन पक्षको पदाधिकारी टिममा पश्चिमी भूगोलका नेताहरू खासै नपरेका कारण बाजागाजासहित देउवा खेमामा पश्चिमका कार्यकर्ताहरूको उत्साह बढी देखिएको हो ।