Breaking

चीनको ‘इग्नोर’मा विद्या, भएन भीआईपी भेट, वाम एकता–ओली तगारो, …अनि टाढिए प्रचण्ड (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीको पछिल्लो चीन भ्रमणलाई लिएर राजनीतिक वृत्तमा अनेक अड्कलबाजी र संशय उब्जिएका छन् । एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएलगत्तै भएको उनको पहिलो विदेश भ्रमणलाई केवल सामान्य सहभागिताका रूपमा मात्र हेरिएको थिएन । भण्डारी बेइजिङ उडेपछि राष्ट्रिय राजनीतिमै नयाँ समीकरण बन्ने र विशेषगरी वामपन्थी एकताले गति लिनेसम्मका विश्लेषण भए ।
११ वर्षपछिको सक्रिय दलीय राजनीति र उनको भावी भूमिकाबारे अनेक चर्चा चलिरहेकै बेला यो भ्रमण भएको थियो । त्यसो त, दुई कार्यकाल राष्ट्रपति रहँदा भण्डारीले चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएकी थिइन् । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग विगतमा उनको निकै सुमधुर सम्बन्ध रहेका कारण यसपटक पनि सीसँग उच्चस्तरीय भेटवार्ता हुने अपेक्षा स्वाभाविक थियो । विगतको त्यही सम्बन्धले उच्चस्तरीय राजनीतिक संवादको ढोका खोल्ने अनुमान गरिएको थियो । तर, भ्रमण कुनै राजनीतिक भेटवार्तामा प्रवेश नै नगरी सम्मेलनमा सहभागिता र सार्वजनिक तहको संवादमै सीमित बन्यो । स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उनले आफ्नो भ्रमण राजनीतिक नभई चीनको हेबोई प्रान्तस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागिता र सम्बोधनका लागि मात्र भएको स्पष्टीकरण दिइन् ।