पूर्वसांसद, वामपन्थी नेता तथा सञ्चार उद्यमी डा. विजय पौडेलको निधनप्रति मिडिया एलायन्स नेपालले शोक व्यक्त गरेको छ ।
टेलिभिजन सञ्चालकहरूको छाता संस्था ‘मिडिया एलायन्स नेपाल’का कार्यसमिति सदस्य समेत रहेका पौडेलको आकस्मिक निधनप्रति संस्थाले गहिरो शोक व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको हो । एलायन्सले एक शोक वक्तव्य जारी गर्दै नेपाली टेलिभिजन उद्योगको विकास र विस्तारमा पौडेलको योगदान सदैव स्मरणीय रहने उल्लेख गरेको छ। उनको असामयिक निधनबाट नेपाली सञ्चार जगतले एक समर्पित व्यावसायिक व्यक्तित्व तथा आत्मीय मित्र गुमाएको भन्दै एलायन्सले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएका पौडेलको सोमबार अस्पतालमै निधन भएको थियो।
कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार उनलाई अस्पताल ल्याइपुर्याउँदा नै निधन भइसकेको थियो। ‘उहाँलाई आकस्मिक कक्षमा जाँच गर्दा निधन भइसकेको पुष्टि भएको थियो,’ डा. नकर्मीले भने ।
दिवंगत पौडेल पुराना तथा शीर्ष वामपन्थी नेता मोदनाथ प्रश्रितका छोरा हुन् । उनी लामो समय नेकपा (एमाले) को राजनीतिमा सक्रिय थिए । एमाले विभाजन भएपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा लागेका पौडेल पछिल्लो समय माओवादीसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै नेकपा (संयुक्त) मा आबद्ध भई सक्रिय रहँदै आएका थिए ।
राजनीतिक क्षेत्रसँगै उनी सञ्चार उद्योगमा पनि उत्तिकै सक्रिय थिए । उनी ‘जनता टेलिभिजन’का सञ्चालक तथा टेलिभिजन सञ्चालकहरूको छाता संस्था ‘मिडिया एलायन्स नेपाल’का कार्यसमिति सदस्य थिए।



प्रतिक्रिया