काठमाडौं– वर्षदिनसम्म विदेश भ्रमण नगर्ने घोषणा गरेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को पहिलो विदेश भ्रमण नै अमेरिका हुन पुगेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको नेतृत्व गर्दै प्रधानमन्त्री शाह मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका हुन् । सुरुमा परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल जाने तय भए पनि देशमा बदलिँदो परिस्थितिका कारण प्रधानमन्त्री आफैँ महासभालाई सम्बोधन गर्ने निष्कर्षमा पुगेका हुन् । जलवायु परिवर्तनका कारण निम्तिएको हिमपहिरो र विपद्बाट नेपालले ठूलो क्षति व्यहोर्नुपरेपछि प्रधानमन्त्री शाह स्वयं अग्रसर भएर अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति जनाउन लागेका हुन् । आगामी असोज १० गते स्वदेश फर्किने गरी प्रधानमन्त्रीले महासभाका लागि ५ दिनको समय छुट्याएका छन् । स्थानीय समय अनुसार बिहीबार तथा नेपाली समय अनुसार शुक्रबार बिहान पौने एक बजे उनले १ सय ३३ देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसामु जलवायु सङ्कट, नेपालले पाउनुपर्ने जलवायु न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोगको अडान राख्नेछन् । विश्वकै कान्छा सरकार प्रमुखका रूपमा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिबारे करिब १५ सय शब्दमा १४ मिनेट लामो सम्बोधनमार्फत विश्व समुदायको ध्यानाकर्षण गराउने छन् । यस भ्रमणका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
Breaking


प्रतिक्रिया