काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता खस्किएको एक सर्वेक्षणले देखाएको छ । इप्सोसले गरेको सर्वेक्षणमा राष्ट्रपति ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन दर पनि घटेको देखिएको छ । सर्वेक्षणले राष्ट्रपति ट्रम्पप्रतिको जनसमर्थन घटेर ३५ प्रतिशतमा पुगेको देखाएको छ । इप्सोसले गरेको सर्वेक्षणअनुसार अमेरिकी मतदाताले झन्डै एक दशकपछि पहिलोपटक अमेरिकी अर्थतन्त्र सञ्चालनका लागि रिपब्लिकन पार्टीभन्दा डेमोक्रेटिक पार्टीलाई बढी उपयुक्त मानेका छन् । अहिले नै अमेरिकी कंग्रेसको निर्वाचन भएको अवस्थामा कसलाई मतदान गर्ने भन्ने प्रश्नमा पनि डेमोक्रेटिक पार्टी अगाडि देखिएको छ । सर्वेक्षणअनुसार ४२ प्रतिशत दर्ता मतदाताले कंग्रेसको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवारलाई मतदान गर्ने बताएका छन् भने ३७ प्रतिशतले रिपब्लिकन उम्मेदवारलाई रोजेका छन् । ट्रम्पले भने आफ्नो नेतृत्वप्रति अमेरिकी जनता असन्तुष्ट रहेको देखाउने विभिन्न सर्वेक्षणलाई पटक–पटक अस्वीकार गर्दै आएका छन् । आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कंग्रेसमा रहेको आफ्नो झिनो बहुमत जोगाउनुपर्ने चुनौती छ । यस निर्वाचनबाट आगामी दुई वर्षका लागि अमेरिकी कंग्रेसको नियन्त्रण कुन पार्टीको हातमा रहने भन्ने निर्धारण हुनेछ ।
अन्तराष्ट्रिय


प्रतिक्रिया