समाचार

थकाली भान्साघर संघ नेपाललाई कलेक्टिभ ट्रेडमार्क सर्टिफिकेट प्रदान

योहो संवाददाता

काठमाडौंथकाली भान्साघर संघ नेपालले उद्योग विभागबाट आधिकारिक रूपमा कलेक्टिभ ट्रेडमार्क सर्टिफिकेट र लोगो प्राप्त गरेको छ। संघले ‘थकाली भान्साघर संघ नेपाल’ नाममा कलेक्टिभ ट्रेडमार्कसहितको प्रमाणपत्र प्राप्त गरेको हो । संघका अध्यक्ष विवेक तुलाचनका अनुसार करिब तीन वर्षको निरन्तर प्रयासपछि संघले उक्त लोगो प्राप्त गर्न सफलता हासिल गरेको हो । आज उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले प्रमाणपत्र प्रदान गरेका थिए । उनका अनुसार यो लोगोले नेपालभर रहेका संघमा आबद्ध सदस्य थकाली भान्साघरहरूलाई आधिकारिक पहिचान दिनेछ ।

अब संघमा आबद्ध प्रत्येक सदस्यले आफ्नो होटल वा रेस्टुरेन्टमा आधिकारिक कलेक्टिभ ट्रेडमार्क लोगो प्रयोग गर्न सक्नेछन् । यसबाट ग्राहकले प्रमाणित तथा आधिकारिक थकाली भान्साघर सजिलै चिन्ने अपेक्षा गरिएको तुलाचनले बताए । बजारमा थकाली नाम प्रयोग गर्ने धेरै व्यवसाय सञ्चालन भइरहेका कारण वास्तविक तथा प्रामाणिक (अथेन्टिक) थकाली भान्साघर कुन हो भन्ने विषयमा अन्योल रहेको अध्यक्ष तुलाचनले बताए । यही अन्योल हटाउन र आधिकारिक थकाली भान्साघरको पहिचान स्थापित गर्न कलेक्टिभ ट्रेडमार्क लोगो प्राप्त गरिएको उनले स्पष्ट पारे ।

उनका अनुसार लोगो प्रयोग गर्ने सदस्य संस्थाले ग्राहकले अर्डर गरेअनुसारको गुणस्तरीय तथा निर्धारित सेवा उपलब्ध गराउनुपर्नेछ । यदि लोगो प्रयोग गर्ने संस्थाले निर्धारित मापदण्डअनुसार सेवा वा खाना उपलब्ध गराउन नसके आवश्यक कारबाहीको व्यवस्था पनि गरिने उनले जानकारी दिए । कलेक्टिभ ट्रेडमार्क प्राप्त भइसकेपछि उक्त नाम र लोगो अन्य व्यक्ति वा संस्थाले अनधिकृत रूपमा प्रयोग गर्न नपाउने बताए । यसले थकाली भान्साघरको मौलिकता, विश्वसनीयता र ब्रान्ड पहिचानलाई थप मजबुत बनाउने उनको विश्वास छ।
०००