काठमाडौं– पञ्चायतकालदेखि हालसम्मका हरेक राजनीतिक परिवर्तनको बिगुल फुक्ने र विद्रोहको केन्द्र चितवन जिल्ला हो । देशभरका ७७ वटै जिल्लाका मानिसको बसोबास रहेको चितवनलाई ‘नयाँ ७८ औँ जिल्ला’ का रूपमा पनि चिन्ने गरिन्छ । नेपाली राजनीतिको पछिल्ले तीन दशकमा कहिले कांग्रेस, कहिले एमाले त कहिले तत्कालीन नेकपा माओवादीको ‘हब’ बनेको चितवन, अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्र बनेको छ । स्थापित दलका नियत र राजनीतिबाट जनता वाक्क–दिक्क भएका बेला चितवनले वैकल्पिक राजनीतिक दल रास्वपालाई जन्माएर अहिले नेपाली राजनीतिलाई ‘लक्का जवान’ बनाएको छ ।
प्रजातान्त्रिक आन्दोलनमा पनि चितवनले विद्रोह ग¥यो । त्यसबेला सरकारी सेनाले चितवनदेखि लमजुङ, तनहुँ, धादिङलगायतका जिल्लाहरूमा हत्याकाण्ड मच्चाएको थियो । दर्जनौँ नेपाली कांग्रेसका योद्धाहरू त्यसक्रममा मारिएका थिए । सबैभन्दा बढी चितवनमै मारिएका थिए । त्यसकारण पनि चितवन हरेक राजनीतिक परिवर्तनको साक्षी हो । राजनीतिक इतिहासमा चितवनलाई केवल एउटा जिल्ला मात्र नभई राजनीतिक परिवर्तनको महत्वपूर्ण केन्द्रका रूपमा हेरिँदै आएको छ । पछिल्ला वर्षहरूमा भएका प्रमुख राजनीतिक घटनाक्रमले पनि चितवनको बढ्दो राजनीतिक प्रभावलाई थप पुष्टि गरेका छन् । तत्कालीन माओवादी पार्टीबाट अहिलेका नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई देशको प्रधानमन्त्रीका रूपमा पाएको चितवनले थुप्रै नेता जन्माएको छ । त्यसपछि वैकल्पिक राजनीतिक दलका रूपमा उदाएको रास्वपाको उदयसँगै चितवन राष्ट्रिय राजनीतिको केन्द्रमा रह्यो । रास्वपाका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा निर्वाचन जितेपछि चितवन नयाँ राजनीतिक बहसको केन्द्र बन्यो । चितवनले जिताएर पठाएका सांसदहरू नै देशकै ठूलो दल रास्वपाको उपसभापतिमा सोविता गौतम तथा हरि ढकाल सहमहामन्त्री बनेपछि रास्वपाको संगठनात्मक र राजनीतिक प्रभावमा चितवनले विशेष स्थान पाएको छ ।


प्रतिक्रिया