देश

रास्वपाको अधिवेशन ः कानुनी संकट, कबिन्द्रले केटाकेटीलाई कार्यकर्ता बनाउँदा जेलको त्रास (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– देशको सबैभन्दा ठूलो र शक्तिशाली दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जससँग संसदमा झण्डै दुईतिहाइ नजिकको बहुमत छ । त्यही बहुमतको शक्तिशाली एकल सरकार छ । वडादेखि केन्द्रसम्म अभूतपूर्व जनसमर्थन र जनमत पनि छ । अर्थात, वर्तमान समयमा देशको सबैभन्दा लोकप्रिय दल पनि रास्वपा नै हो । पार्टी स्थापनाको छोटो समयमै देशभर पार्टी सदस्यको संख्या ५ लाखभन्दा धेरै पुगिसकेको छ । तर रोचक कुरा के छ भने, यति छोटो समयमै देशकै सबैभन्दा ठूलो र शक्तिशाली दल बनेको रास्वपाले नेपालको संविधान र विभिन्न ऐन–कानुनविपरीत हजारौंको संख्यामा १८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको छ । राज्यसत्ताको नेतृत्व गरिरहेको पार्टी नै संविधानविपरीत राजनीतिक गतिविधि गरिरहेको छ । हालै सम्पन्न पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा तत्कालीन महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदनमा कुल ५ लाख २३ हजार ४ सय ६५ पार्टी सदस्यमध्ये ६.७ प्रतिशत अर्थात ३५ हजार २ सय ५७ जना सदस्य नाबालिग रहेको विवरण उल्लेख गरिएको छ । अर्थात्, पार्टीका ३५ हजारभन्दा बढी सदस्य १८ वर्ष मुनिका बालबालिका रहेका छन् । अझ रोचक कुरा त के छ भने, तत्कालीन महामन्त्री बुर्लाकोटीले पेश गरेको प्रतिवेदन महाधिवेशनबाट पारितसमेत भइसकेको छ । पार्टीले आधिकारिक रूपमा हजारौं नाबालिगलाई कानुनविपरीत पार्टी सदस्य बनाएको कुरा दस्ताबेजीकरण गरिसकेको छ ।