समाचार

तस्करीको विषय उठाउँदा पक्राउ परेका युवराज खड्कालाई रिहा गर्न अदालतको आदेश

योहो संवाददाता

सल्यानमा काठ तस्करीको बिषय उठाउँदा साइबर अपराध सम्बन्धीको कसुरमा पक्राउ परेका जेनजी युवा युवराज खड्कालाई अदालतले रिहा गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानले असार ८ गते सदरमुकाम खलंगा नजिकै साइलाकम्दाबाट पक्राउ गरेको थियो । मंगलबार जिल्ला न्यायाधिश प्रल्हादकुमार योगीको इजलासले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

जेनजी सल्यानको संयोजकसमेत रहेका खड्काले विगत लामो समयदेखि जिल्लाको कर्मचारीतन्त्र, प्रशासनिक संयन्त्र र जनप्रतिनिधिहरुले मच्चाएको बेथितीविरुद्ध खरो आवाज उठाउँदै आएका थिए ।
पछिल्लो समय जिल्लाका केही जनप्रतिनिधि, काठ व्यवसायी र तस्करहरुको मिलेमतोमा कालिमाटी लगायतका क्षेत्रबाट व्यापक काठ तस्करी भइरहेको विषयमा लगातार आवाज उठाइरहेका थिए । तर काठ व्यवसायीसमेत रहेका बागचौर नगरपालिका सल्यानका मेयर जनकराज गौतम र हस्त जिएमले तस्करीमा आफुलाई जोडेर चरित्रहत्या गरेको भन्दै साइबर अपराध सम्बन्धीको कसुरमा मुद्दा दायर गरे ।

जिल्ला प्रहरी कार्यालय सल्यानका तत्कालिन प्रमुख डा. हेमबहादुर केसीले सार्वजनिक चासोको विषयमा आवाज उठाएकै कारण मुद्दा दायर गर्ने आधार कमजोर रहेको बताएपछि सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई दबाब दिएर जाहेरी दर्ता गरिएको थियो । त्यसपछि तस्करहरुको समूहले डीएसपीकै सरुवा गराएर भएपनि खड्कालाई पक्राउ गर्नुपर्ने अभियान चलाएको स्वंयम् खड्काले सार्वजनिक गरेका थिए । डीएसपी केसीको सरुवा भएर त्यसपछि दीपक पातली जिल्ला प्रहरीको नेतृत्वमा आए । त्यसको केही समयमै खड्का पक्राउ परेका हुन् ।

सल्यानमा काठ तस्करीको विषय ओपन सेक्रेटजस्तै बनेको छ । आइतबारमात्रै अवैध काठ बोकेर जाँद गरेको टिपरलाई भोटेचौर प्रहरीले नियन्त्रणमा लिएको छ । कालिमाटी क्षेत्रमा व्यापक तस्करी भएपनि अनुसन्धानकारी निकाय मौन छन् । विगतदेखि नै केही गिरोहले योजनाबद्ध रुपमा यसरी तस्करी गरिरहेको आरोप छ । तर त्यसको निष्पक्ष अनुसन्धान न प्रहरी गर्न सक्यो, न वन कार्यालयबाटै यसको रोकथाम हुन सकेको छ । बरु सबैको मिलेमतोमा काठ तस्करी गरिरहेको आरोप छ ।