काठमाडौं । बूढानीलकण्ठ नगरपालिका– ५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कन) मा बालबालिकामाथि दुव्र्यवहारको आरोप लागेका व्यक्तिलाई एक वर्षको कैद भएकोमा उनी ५० हजार धरौटीमा रिहा भएका छन् ।
उक्त आरोपमा पक्राउ परेका सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई बालबालिकासम्बन्धी कसुरमा रहेको कैद तथा जरिवानाको सजाय गर्न सर्वोच्च अदालतले परमादेश दिएको थियो । त्यसअनुसार एक वर्ष कैद र ५० हजार धरौटीको सजाय तोकिएकोमा कानुन बमोजिम थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने गरी उनी रिहा भएका हुन् । पहिलोपटकको कसुरमा एक वर्षसम्मको कैद तोकिए थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाइने कानुनी सुविधा छ ।
श्रेष्ठको तर्फबाट उनकी पत्नी देभिना साखले सर्वोच्च अदालतमा दर्ता गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि शुक्रबार परमादेश जारी भएर उनलाई एक वर्षको कैद तोकिएको हो । न्यायाधीशहरु अव्दुलअजीज मुसलमान र शान्तिसिंह थापाको बेञ्चले बन्दीप्रत्यक्षीकरण रिट खारेज गरी कानुन बमोजिम गर्न परमादेश जारी गरेको थियो । बालबालिका सम्बन्धी कसुरमा कानुनले एक वर्ष कैद र जरिवानाको व्यवस्था गरेको छ ।
श्रेष्ठले दाङ स्थायी घर भई इस्कनमा आश्रित बालबालिकामाथि दुव्र्यवहार गरेको आरोपमा पीडितका अभिभावकले प्रहरीलाई जाहेरी दिएका थिए । पीडितका बाबुआमा पनि सोही संस्थाको क्यान्टिनमा काम गर्छन् ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रतिवादीले थुना बाहिर बसेर मुद्दा लड्न पाउने सुविधा पाए पनि उक्त घटनाको थप अनुसन्धान जारी छ ।
‘बालबालिकामाथि हुने प्रत्येक कसुरमा प्रहरीले निरन्तर र गम्भीर अनुसन्धान गर्छ, थप प्रमाण र दोषी पहिचान भए कारबाही हुन्छ’, उनले भने ।


प्रतिक्रिया