कांग्रेस नेता भूपेन्द्रजंग शाहीले अद्यावधिको नाममा पार्टीको १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण गरिसकेकाहरूले महाधिवेशनमा भाग लिन नपाउने भन्दै पार्टी कब्जाको प्रयास गरेको आरोप लगाएका छन् ।
मंगलबार सभापति थापाले झापा पुगेर सदस्यता अद्यावधिक नगरेकाहरूको नाम वडा अधिवेशनका क्रममा नआउने र सिस्टमले नचिन्ने भन्दै अद्यावधिक नभएका सदस्यको नाम वडा अधिवेशनदेखि माथिल्लो तहका निर्वाचन प्रक्रियामा समावेश नहुने र १५औँ महाधिवेशनमा भाग लिन नपाउने बताएका थिए ।
यो निर्णयले कांग्रेसमा योगदान गरेका, लामो समय आफ्नो ऊर्जा र जीवन समर्पण गरेका, रगत र पसिना बगाएका तमाम पार्टीका नेता कार्यकर्ताहरूको सदस्यता खारेज गर्नु लोकतान्त्रिक पार्टीमा फरक विचारलाई निषेध र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको शाहीले बताए ।
‘अहिले पार्टीमा देखिएको एकलौटी र निरंकुश निर्णय, अलोकतान्त्रिक चरित्र, अद्यावधिकको नाममा हामीले पहिल्यै नवीकरण गरिसकेका सदस्यतालाई खारेज गर्ने र पार्टीमा हिजो जीवन समर्पण गरेका व्यक्तिहरूलाई निकालेर पार्टी कब्जा गर्ने जस्ता गम्भीर समस्या उत्पन्न गराउनुले देशभरिका शुभचिन्तक र समर्थकहरूलाई स्तब्ध र दुःखित तुल्याएको’ उनले बताए ।
शाहीले पार्टीमा कसैको धाकधम्की नचल्ने बताए । ‘पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन । कसैको धम्की, लहड र मनपरीतन्त्रबाट पार्टी चल्दैन । हामी कसैको दास र लास बन्ने होइन । आफ्नो स्वविवेक, विचार र अधिकारसहित बोल्न, लड्न र फरक विचार राख्न आउनु हाम्रो लोकतान्त्रिक अधिकार हो,’ उनले भने ।


प्रतिक्रिया